राष्ट्रपति निर्वाचन : रास्वपा र राप्रपाले के गर्लान् ?

काठमाडौँ - आगामी २६ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास नेम्वाङबीच प्रतिश्पर्धा हुने भएको छ।

कांग्रेसका पौडेललाई आठ दलको समर्थन प्राप्त छ भने एमालेका नेम्वाङलाई एमाले बाहेकका दलले समर्थन गर्ने निर्णय गरिसकेका छैनन्। यद्यपि एमालेले नेपाली कांग्रेस बाहेक सबै दललाई राष्ट्रपतिमा एमालेलाई सहयोग गर्न पत्राचार गरिसकेको छ।

सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्ने विषयमा निर्णय गरिसकेका छैनन्। राप्रपा शनिबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको छ भने रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट बाहिरिएको थियो।

यी दुई दलले राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने विषयमा निर्णय गरिसकेका छैनन्। राप्रपा महामन्त्री धवलसमशेर राणाले अहिले सरकारबाट मात्रै बाहिरिएको उल्लेख गर्दै राष्ट्रपति निर्वाचनमा भोट दिने नदिने विषयमा छलफल हुन बाँकी रहेको बताए। केही दिनभित्रै पार्टीको बैठक बसेर यस विषयमा निर्णय लिइने उनको भनाइ थियो।

राप्रपाभित्र राष्ट्रपति निर्वाचनमा मत दिने नदिने भन्ने विषयमा दुई धार छ। एक समूहले राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दु राज्यको एजेण्डा उठाएको हुनाले राष्ट्रपति निर्वाचनमा मत हाल्न नहुने बताउँदै आएको छ भने अर्को समूहले वर्तमान संविधानलाई स्वीकार गरिसकेको हुनाले यही संविधानको परिधीभित्र रहेर आफूहरुको एजेण्डा स्थापित गर्न लाग्नुपर्ने बताउँदै आएको छ।

‘मेरो व्यक्तिगत विचार त राष्ट्रपति निर्वाचनमा मत दिनु हुँदैन भन्ने हो,’ राणाले डिसी नेपालसँग भने, ‘यद्यपि पार्टीले गर्ने निर्णयलाई सबैले मान्नुपर्छ।’

उता सरकारबाट बाहिरिएको तर समर्थन जारी राखेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि राष्ट्रपति निर्वाचनमा के गर्ने भन्ने विषयमा निर्णय गरिसकेको छैन।

राष्ट्रपति निर्वाचनसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने नीति लिएको रास्वपाले राष्ट्रपति निर्वाचनमा मत दिने नदिने भन्ने विषयमा ‘पर्ख र हेर’ को नीति लिएको छ। सो विषयमा निर्णय गर्न रास्वपाले सोमबार केन्द्रीय समितिको बैठक बोलाएको उपाध्यक्ष एवं संसदीय दलका नेता डिपी अर्यालले बताए।