एनआरएनए कन्साईको आयोजनामा भव्य "सांस्कृतिक धमाका" आयोजना हुने

ओसाका, जापान — कन्साईमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान कन्साई क्षेत्रीय समितिले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा विशेष "सांस्कृतिक धमाका" कार्यक्रम आयोजना गर्ने भएको छ। "सांस्कृतिक धमाका" कार्यक्रममा लोक प्रिय गायक हेमन्त शर्मा, लोक तथा दोहोरी गायक प्रकाश पराजुली तथा अस्मिता डल्लाकोटीको प्रस्तुती रहने आयोजकले बताएको छ । 

“जहाँ समस्या त्यहाँ एनआरएनए कन्साई” भन्ने मूल नारासहित आयोजना गर्न लागिएको यस कार्यक्रममा कन्साई क्षेत्रका नेपालीहरूको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ। नयाँ वर्षको उल्लासलाई सांस्कृतिक कार्यक्रममार्फत साझा गर्ने उद्देश्यले आयोजना गरिएको यस विशेष कार्यक्रममा विविध मनोरञ्जनात्मक तथा सांस्कृतिक प्रस्तुतिहरू रहने एनआरएनए कान्साईका संयोजक भीम काउचा (अनुप)ले बताउनु भयो।

एनआरएनए जापान कान्साईका उपसंयोजक तथा नयाँ वर्ष विशेष कार्यक्रमका संयोजक शंकर भुषालका अनुसार कार्यक्रम यही २०२६ जनवरी १ तारिख बिहीबार जापानको ओसाका शहरमा अवस्थित सनराइज इभेन्ट हल होम्माचीमा सम्पन्न हुनेछ।  कार्यक्रमको मुख्य उद्देश्य कान्साई क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायबीच आपसी सद्भाव र एकता सुदृढ गर्नुका साथै भइपरी आउँदा सहयोग हुने उद्देश्यले अक्षय कोष निर्माण गर्नु रहेको रहेको बताइएको छ।


एनआरएनए कन्साईले नयाँ वर्ष २०२६ लाई स्मरणीय बनाउन सम्पूर्ण कन्साईवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई सांस्कृतिक धमाकामा सहभागी हुन आग्रह गरेको छ। कार्यक्रमसम्बन्धी थप विवरण छिट्टै सार्वजनिक गरिने जनाउँदै आयोजकले जनाएको छ ।