'धोका दिनुलाई चलाखी ठान्नेहरूलाई दुनियाँले चिन्दै जान्छ' : ओली 

काठमाण्डौँ - फागुन १४ गते आयोजित शहीद, घाइते तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशलाई धोका दिनेहरू क्रमशः नाङ्गिंदै जाने बताए। गत पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले नयाँ गठबन्धन बनाए लगत्तै ओलीले यस्तो प्रतिक्रिया दिएका हुन्। 

कसैको नाम उल्लेख नगरी ओलीले भने, “धोका र बेइमानीलाई आफ्नो चलाखी, श्रेष्ठता र कुशलता ठान्ने, जनता र देशलाई धोका दिनेलाई बिस्तारै दुनियाँले चिन्दै जान्छ।”

माओवादी अध्यक्ष दाहालले २०५२ सालमा ‘जनयुद्ध’ को नाममा हिंसात्मक राजनीति शुरू गरेको ओलीको भनाइ थियो। उनले भने, “त्यो हिंसात्मक युद्ध सञ्चालक अहिले पनि कार्यकारी ठाउँमा छन्, तीन पटक त प्रधानमन्त्री नै बनिसके।”

२०६२-६३ सालपछि माओवादी नै सबैभन्दा बढी सत्तामा बसेको ओलीले उल्लेख गरे। जता जोसँग मिलेर पनि सत्तामा पुग्ने गरेको उनको भनाइ थियो।