काठमाडौं, भदौ ११ । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सक्रिय हुन निर्माण व्यवसायीहरूलाई विशेष अपिल गरेको छ।महासंघका अध्यक्ष निकोलस पाण्डेद्वारा जारी विशेष अपिलमा बाढीबाट भएको अकल्पनीय मानवीय क्षतिप्रति महासंघले गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। महासंघले प्राकृतिक विपत्तिमा परी घाइते भएका नागरिकको उद्धार तथा स्वास्थ्य उपचारलाई थप चुस्त र द्रुत बनाउन नेपाल सरकारका सम्बन्धित निकायले गरिरहेको प्रयासमा सक्दो सहयोग गर्न निर्माण व्यवसायीहरूलाई आग्रह गरेको छ। विशेषगरी बाढी प्रभावित क्षेत्रमा निर्माण व्यवसायीका यन्त्र, उपकरण तथा जनशक्ति परिचालन गरी उद्धार कार्यमा सक्रिय हुन महासंघले आह्वान गरेको छ। विपद्को यस कठिन अवस्थामा निर्माण व्यवसायीहरूले आपसी सहयोग, समन्वय, संयमता र धैर्यता कायम गर्दै सम्भव भएसम्म विपद् प्रभावित नागरिकको खोज तथा उद्धारमा जुट्नुपर्ने महासंघको भनाइ छ। महासंघले महाविपत्तिको सामना गर्नु कुनै एक व्यक्ति, संस्था वा सरकारको मात्र जिम्मेवारी नभई हरेक नागरिकको साझा दायित्व भएको उल्लेख गरेको छ। यस्तो कठिन परिस्थितिमा राष्ट्रिय एकताको वास्तविक परिचय दिन उद्धार तथा राहत कार्यलाई तीव्रता दिनुपर्नेमा महासंघले जोड दिएको छ। महासंघले राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघ–संस्था र आम नागरिकलाई समेत विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गरेको छ।
प्रतिक्रिया