images

आज भीमा एकादशी श्रद्धा र भक्तिपूर्वक मनाइँदै

काठमाडौं । आज माघ शुक्ल पक्षमा पर्ने भीमा एकादशी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । अन्य एकादशीहरू जस्तै भीमा एकादशीलाई पनि पाप हरण गर्ने तथा भोग र मोक्ष दुवै प्रदान गर्ने महत्त्वपूर्ण एकादशीका रूपमा लिइन्छ ।महाभारतकालदेखि नै भीमा एकादशीको विशेष महत्त्व रहेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । कुन्तीपुत्र भीमले यस दिन व्रत बसेको प्रसङ्गसँगै यस एकादशीको नाम ‘भीमा एकादशी’ रहन गएको विश्वास गरिन्छ ।गरुड पुराणअनुसार भीम अत्यन्त बलवान, मोटा र खन्चुवा स्वभावका थिए, जसका कारण उनले व्रत बस्न सक्लान् भन्नेमा धेरैलाई शंका थियो । तर भीमले ठूलो त्याग र समर्पणका साथ एकादशी व्रत बसेपछि माघ शुक्ल एकादशीको नाम नै भीमा एकादशी भएको बताइन्छ । भीमले एकादशी व्रत बसेकै कारण सबै पितृ ऋणबाट मुक्त भएको पनि मान्यता छ ।धार्मिक मान्यताअनुसार भीमा एकादशीको व्रतले ब्रह्महत्या, सुरापान, सुन चोरी, गुरु–पत्नी गमन जस्ता महापाप नाश गर्ने शक्ति प्राप्त हुन्छ । नैमिषक्षेत्र, कुरुक्षेत्र, प्रभासक्षेत्र, गङ्गा, यमुना लगायत सबै तीर्थहरूको दर्शन गरेसरह पुण्य प्राप्त हुने विश्वास गरिएको छ । कुनै पनि दान, जप, होम तथा अन्य पुण्य कर्मभन्दा भीमा एकादशीको व्रतलाई श्रेष्ठ मानिन्छ ।कलियुगमा भगवान्को नाम जप्नुलाई नै सबैभन्दा ठूलो यज्ञ मानिन्छ । एकादशीका दिन भगवान् विष्णुको नाम जप तथा आराधना विशेष फलदायी मानिन्छ । भीमा एकादशीका अवसरमा सुनसरीस्थित वराहक्षेत्रमा भगवान् विष्णुको बराह अवतारको दर्शनका लागि भक्तजनको ठूलो घुइँचो लाग्ने गर्दछ । यसका साथै देशभरका अन्य देवालय तथा तीर्थस्थलहरूमा पनि श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहने गर्दछ ।

बिहीबार १५ माघ २०८२ ०९:२६ AM मा प्रकाशित

प्रतिक्रिया