images

विद्यालयमा सरस्वती पूजाको तयारी तीब्र , मुर्तिलाई दिइएको अन्तिम रुप

रौतहट ।  श्रीपञ्चमीको अवसरमा रौतहटका निजि तथा सामुदायिक विद्यालयमा  पूजाको तयारी थालिएको छ । विद्यालय सरसफाई तथा विभिन्न रङ्गीन तोरण समेत टाँगिएको छ  । अहिले विद्यालय वा परिसरमा रहेको मान्दिरलाई सिगार्ने काम भइरहेको छ । कतिपय विद्यालयले सरस्वती माताको मुर्तिलाई राखेर पूजाराधना गर्ने गर्छन् । विद्याकी देवी सरस्वतीको मुर्ति राखेर विशेष पुजाअर्चना गर्ने दिन भएकाले कालिगढलाई ब्यस्थता बढेको छ । अहिले मुर्तिलाई अन्तिम रुप दिइसकेको गौर नगरपालिका वडा नं ५ का ओमप्रकाश प्रजापति बताए । उनका अनुसार दाजुभाई दुई महिनादेखि निरन्तर माटो, पराल, बाँस, डोरी लगायत विभिन्न सामाग्रीको सहयोगले सरस्वती माताको मुर्ति बनाउन कार्यमा लागेको बताए । धेरै जसो  विद्यालयबाट सरस्वती माताको मुर्तिको माग भएको उनले जानकारी दिए । यस बर्ष माघ २१ गते ९भोलि ० सरस्वती पूजा परेको छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउनुका साथै नाक–कान छेडिदिने गरिन्छ । यस दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । यहाँ निजि विद्यालयले सरस्वती पूजा निशुल्क भर्ना तथा शिक्षा आरम्भ भन्दै प्रचार प्रसार गर्दै आएका छन । यस दिन विद्यालयहरुले विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमको आयोजना समेत गर्ने गर्दछन् ।   प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरि  मनाइन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीको रूपमा पूजाराधना गर्छन् ।
 

आइतबार​ २० माघ २०८१ ०८:१४ AM मा प्रकाशित

प्रतिक्रिया