काठमाडौं । सङ्घीय संसद्का विभिन्न आठ वटा समितिका बैठक आज बस्दैछन् । प्रतिनिधिसभातर्फका अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका बैठक बस्न लागेका हुन् । यस्तै, महिला तथा सामाजिक, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । राष्ट्रियसभातर्फको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बस्दैछ । अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्नुहुने संशोधन प्रस्तावकर्ता सदस्यसँग छलफल गर्ने कार्यसूची छ । अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तासँग छलफल हुनेछ । यस्तै,उद्योग तथा वाणिज्य समितिमा नेपाल सरकारद्वारा किसानलाई अनुदान उपलब्ध गराउने रासायनिक मलको आयात तथा बिक्री वितरणका लागि निर्धारण भएको कोटाका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै,कृषि तथा सहकारी समितिमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयमा छलफल गर्ने कार्यसूची राखिएको छ । पूर्वाधार विकास समितिमा विद्युत् विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१, सुनकोशी मरिण डाइभर्सन आयोजना र विविध शीर्षकमा छलफल गर्ने कार्यसूची छ । त्यस्तै,शिक्षा समितिमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमा छलफल हुनेछ । सङ्घीयता सबलीकरण समितिमा समितिको स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथि छलफल हुनेछ । कानुन समितिको कार्यसूची भने अहिलेसम्म राखिएको छैन् ।
प्रतिक्रिया