बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात र लगातारको वर्षाका कारण देशका अधिकांश प्रमुख राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । बाढी, पहिरो र लेदो खस्दा जनजीवन र यातायात सेवा नराम्ररी प्रभावित बनेको छ ।
प्रहरी तथा सडक विभागबाट प्राप्त पछिल्लो विवरण शनिबार बिहान ४ः५५ बजे रोशी गाउँपालिका–९ पिनथली र वडा नं. ८ गिम्दीबेँसीस्थित विपी राजमार्गमा खहरेखोलाबाट ढुंगा र माटोसहितको लेदो आएपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ ।
ललितपुर बागमती खोला करिडोर र कान्तिलोकपथ पुर्णरुपमा अवरुद्ध भएको छ । बल्खु, सुन्दरीघाट स्थित रहेको करिडोरको बाटोमा अबिरल बर्षातको कारणले पानिको बहाव बढ्न गई बाटो पुर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
यस्तै मध्यपहाडी लोकमार्गमा बिहान ७ः५० बजे हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडामा सडकमाथिबाट लेदोसहितको पहिरो झर्दा करिब १५ मिटर मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
आजै बिहान ७ः३० बजे वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ चैलेमा लगातारको वर्षाका कारण पानीको बहाव बढेर करिब २० मिटर सडक बगाउँदा जोमसोम–कोरोला सडक खण्ड पूर्ण अवरुद्ध भएको छ ।
निरन्तरको वर्षाका कारण हेटौँडाबाट ठिङ्गन हुँदै ललितपुर निस्कने कान्तिलोकपथ सडक खण्डमा सुरक्षालाई मध्यनजर गर्दै रात्रिकालीन समयमा सवारी साधन आवागमन रोक लगाइएको छ । यसैगरी, बागमती गाउँपालिका–३ पाङ्दुर र टार्कुचेमा पनि पहिरो गएर बाटो बन्द छ ।
प्रहरीका अनुसार कालीगण्डकी गाउँपालिका–२ राक्सेमा बिहान ७ः४० बजे माथिबाट लेदोसहितको पहिरो खसी बाटो बन्द भएको छ । नवलपरासी पूर्व खण्डः गैँडाकोट नगरपालिका–३ तरङ्ग भीरमा बिहान ९ः०० बजे पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
विदुर नगरपालिका–१० सातबिसेमा सडकमाथिबाट पहिरो खस्दा पासाङ ल्हामु सडक खण्ड अवरुद्ध बनेको छ । यसैगरी इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी पेट्रोल पम्प नजिकै पहिरो झर्दा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ ।
बर्षाको कारण मुस्ताङको चैले स्थित जोमसोम–कोरोला सडक–खण्डमा पानीको वहावले करिब २० मिटर सडक बगाउँदा बाटो पूर्ण रुपमा अवरोध भएको छ ।
अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा सडक अवरुद्ध रहेकाले अत्यावश्यक कामबाहेक यो अवधिमा यात्रा नगर्न र यात्रा गर्नैपरेमा सम्बन्धित क्षेत्रको सडक अवस्था बुझेर मात्र निस्कन प्रशासनले अनुरोध गरेको छ । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ ।
प्रतिक्रिया