ओसाका (जापान)। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) कान्साई जापानले आगामी सेप्टेम्बर १८ र १९, २०२६ मा पहिलो पटक ‘नेफिन कल्चरल फेस्टिभल कान्साई २०२६’ आयोजना गर्ने भएको छ। महोत्सवको तयारी तथा उद्देश्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले कार्यक्रमको औपचारिक घोषणा गरेको हो।
पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक एवं नेफिन कान्साईका सल्लाहकार अमर लामा बोल्दै नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषता भएको राष्ट्र रहेको उल्लेख गर्दै यही विविधता नेपालको मौलिक पहिचान र शक्ति भएको बताए। जापानमा बसोबास गरिरहेका नेपाली समुदायले पनि आफ्नो भाषा, भेषभूषा, कला, संस्कृति र पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्दै आगामी पुस्तासम्म हस्तान्तरण गर्नुपर्ने दायित्व रहेको धारणा व्यक्त गरिएको थियो।
आयोजकका अनुसार महोत्सवको मुख्य उद्देश्य नेपालका आदिवासी जनजातिहरूको मौलिक कला, संस्कृति, परम्परा, भाषा तथा पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु, नेपाल–जापानबीचको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउनु तथा विदेशमा हुर्किरहेको नयाँ पुस्तालाई आफ्नै संस्कृतिसँग जोड्नु रहेको छ।
दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जातीय समुदायका सांस्कृतिक प्रस्तुति, परम्परागत कला, भेषभूषा, भाषा, नेपाली खाना र सांस्कृतिक विविधता झल्किने कार्यक्रमहरू समावेश गरिने आयोजकले जनाएको छ। साथै, नेपाली समुदायसँगै जापानी नागरिक, विभिन्न सामाजिक संघ–संस्था, कलाकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको आदिबासी जनजाती महासंघ जापान कान्साई समितिका संयोजक नरेन थापा मगरले बताउनु भयो ।
नेपाल आदिवासी जनजाति महासंघ कान्साई जापानले महोत्सवमा सम्पूर्ण नेपाली समुदाय, जापानी मित्रहरू, विभिन्न संघ–संस्था, कलाकार तथा सञ्चारमाध्यमलाई सक्रिय सहभागिताका लागि हार्दिक आमन्त्रण गरेको छ।
पत्रकार सम्मेलनको अन्त्यमा आयोजकले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबै व्यक्ति, संस्था तथा सञ्चारमाध्यमप्रति आभार व्यक्त गर्दै सबैको साथ, सहयोग र सहभागिताले ‘नेफिन कल्चरल फेस्टिभल कान्साई २०२६’ लाई ऐतिहासिक तथा अविस्मरणीय बनाउने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया