ओसाका, जापान — चर्चित नेपाली गायक सुजन चापागाईंले आफ्नो बहुप्रतिक्षित “स्माइल म्युजिक टूर २०२६” अन्तर्गत जापानको ओसाकामा प्रस्तुति दिन आउने भएका छन्। गणेशा प्रोडक्सनको आयोजनामा हुने उक्त सांगीतिक कार्यक्रम आगामी जुन १, २०२६ मा ओसाकास्थित नाम्बा ह्याचमा आयोजना हुने आयोजक कमिटीका सदस्य दिपक पराजुलीले जानकारी दिनु भयो। कार्यक्रममा चापागाईंले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्ने अपेक्षा गरिएको छ, जसले जापानमा रहेका नेपाली दर्शकहरूलाई विशेष मनोरञ्जन प्रदान गर्नेछ।
कार्यक्रममा सुजन चापागाईं आफ्नो ब्याण्ड द इन्फिनिटी सहित मञ्चमा उत्रिनेछन्। उनको स्वर तथा संगीत रहेका बाफ, लजाएर, घुमी घुमी, फूलथुंगे रानी लगायत गीत लोकप्रिय छन् । “फूलथुंगे रानी”, “बादल बनाइदेऊ” जस्ता लोकप्रिय गीतमार्फत दर्शकलाई मन्त्रमुग्ध बनाउँदै आएका चापागाईंको यो प्रस्तुति जापानस्थित नेपाली संगीतप्रेमीहरूका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार टिकट खरिदका लागि पोस्टरमा राखिएको क्यूआर कोड स्क्यान गर्न सकिने व्यवस्था गरिएको छ। कार्यक्रमलाई सफल बनाउन तयारी तीव्र पारिएको छ।
ओसाका तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका लागि यो सांगीतिक कार्यक्रम विशेष अवसरका रूपमा हेरिएको छ, जहाँ आफ्नै भाषा, संगीत र संस्कृतिसँग रमाउने अवसर प्राप्त हुनेछ।
प्रतिक्रिया