भवानी भट्ट, टोकियो।
नेपालको दुर्गम तथा विकट क्षेत्रहरूमा रगतको अभावका कारण हुने मानवीय क्षति न्यूनीकरण गर्दै समयमै रक्तसेवा उपलब्ध गराउने उद्देश्यले ‘ब्लड संकलन बस सेवा’ सञ्चालनका लागि आर्थिक संकलन अभियान सुरु गरिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष ददीवल खड्काको अगुवाइमा सुरु गरिएको उक्त अभियानलाई सफल बनाउन आगामी जुलाई १८ देखि २० सम्म टोकियोमा आयोजना हुने नेपाल फेस्टिभलमा पनि आर्थिक सहयोग संकलन गरिने भएको छ।
विदेशमा रहेका नेपालीलाई समेत मानव जीवन बचाउने यस अभियानमा सहभागी गराउने उद्देश्यले फेस्टिभललाई प्रमुख अवसरका रूपमा उपयोग गरिने अभियान पक्षले जनाएको छ। यसअघि गत जुन महिनामा नागोयामा सम्पन्न नेपाल फेस्टिभलबाट अभियानका लागि २ लाख २० हजार जापानी येन संकलन भएको जानकारी अभियान संयोजक तथा एनआरएनए आईसीसीका उपाध्यक्ष खड्काले दिनुभयो।
टोकियो नेपाल फेस्टिभलबाट थप सहयोग जुट्ने विश्वास व्यक्त गरिएको छ। नेपालका ग्रामीण तथा दुर्गम क्षेत्रमा आज पनि समयमै रगत उपलब्ध नहुँदा दुर्घटनाका घाइते, गर्भवती महिला, शल्यक्रिया आवश्यक परेका बिरामी तथा अन्य आकस्मिक अवस्थाका नागरिकले ठूलो सास्ती भोग्नुपरेको अवस्था छ। यस्ता क्षेत्रमा रक्तसेवाको पहुँच विस्तार गरी कुनै पनि नागरिकले रगतकै अभावमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ यो अभियान अघि बढाइएको हो।
अभियानअन्तर्गत करिब ७५ लाख नेपाली रुपैयाँ लागतमा अत्याधुनिक सुविधासम्पन्न ब्लड संकलन बस सञ्चालन गर्ने योजना छ। उक्त बसमार्फत गाउँ–गाउँमा पुगेर नियमित रक्तदान कार्यक्रम सञ्चालन गरिने, स्थानीय स्तरमै रगत संकलन तथा सुरक्षित भण्डारण गरिने र आवश्यक पर्दा आकस्मिक बिरामीलाई समयमै रगत उपलब्ध गराउन सहज हुने विश्वास लिइएको छ।
अभियानको नारा “सके रक्तदान गरौं, नसके रक्तदान र संकलनको पुण्य काममा दान गरौं” राखिएको छ। अभियान पक्षले जापानमा रहेका नेपाली समुदाय, व्यवसायी, सामाजिक अभियन्ता, विभिन्न संघसंस्था तथा मानव सेवामा विश्वास गर्ने सबैलाई आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गरी यस अभियानमा सहभागी हुन हार्दिक अपिल गरेको छ। अभियान संयोजक तथा एनआरएनए आईसीसीका उपाध्यक्ष ददीवल खड्काले यो अभियान केवल एउटा परियोजना नभई हजारौं नेपालीको जीवनसँग जोडिएको मानवीय अभियान भएको उल्लेख गर्दै सबै नेपालीको साथ, सहयोग र ऐक्यबद्धताको अपेक्षा रहेको बताउनुभयो।
यसैबीच, नेपाल पत्रकार महासंघ जापान शाखाले पनि यस अभियानलाई व्यापक रूपमा सफल बनाउन जापानस्थित सम्पूर्ण नेपाली सञ्चारमाध्यमलाई समाचार सम्प्रेषण गरी अभियानको प्रचार–प्रसारमा सहयोग गर्न आग्रह गरेको छ। महासंघले मानव जीवनसँग प्रत्यक्ष जोडिएको यस अभियानलाई आमनेपालीसम्म पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरेको छ। एउटा सानो सहयोगले कसैको जीवन बचाउन सक्छ।
आज गरिएको योगदानले भोलि कुनै आमाको आँसु रोक्न, कुनै बालबालिकालाई अभिभावकको साथ दिलाउन वा कुनै परिवारमा नयाँ आशा जगाउन सक्छ। त्यसैले यो केवल आर्थिक संकलन अभियान मात्र होइन, मानवता बचाउने साझा अभियान पनि हो।
प्रतिक्रिया