भवानी भट्ट / टोकियो ।
मञ्चमा हात उठे, कबोल भए, ताली बज्यो र नेपाल हाउस बनाउने संकल्प पनि भयो। तर टोकियो सप्ताह–२०२५ सम्पन्न भएको झण्डै एक वर्ष पुग्न लाग्दा प्रश्न उठेको छ ! त्यतिबेला गरिएको कबोलमध्ये कति पूरा भयो त ? नेपाली कला, संस्कृति, धर्म र परम्पराको सुन्दर संगम बनेको टोकियो सप्ताह–२०२५ नोभेम्बर ८ देखि १५ सम्म टोकियोमा आयोजना भएको थियो।
पण्डित दीनबन्धु पोखरेलको धार्मिक वाचन तथा बौद्ध गुरु टुल्कु सोनाम गर्बाङको आध्यात्मिक उपस्थितिले सप्ताहलाई धार्मिक तथा सांस्कृतिक रूपमा विशेष बनाएको थियो। नेपाल हाउस निर्माणको उद्देश्यसहित आयोजना गरिएको उक्त सप्ताहमा जापानस्थित नेपाली समुदाय, विभिन्न संघसंस्था, व्यवसायी तथा शुभेच्छुकहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आर्थिक सहयोगको कबोल गरेका थिए। त्यतिबेला मञ्चमा गरिएको प्रतिबद्धता अहिले भने सम्झनाको विषय मात्र नभई पूरा गर्ने समयको प्रश्न बनेको छ।
सप्ताह सम्पन्न भएको लामो समयपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले टोकियो सप्ताहमा कबोल गरिएको रकम बुझाउन दाताहरूलाई पुनः आग्रह गरेको छ। नेपाल हाउस जापानमा रहेका नेपालीहरूको साझा घर र पहिचानको केन्द्रका रूपमा विकास गर्ने परिकल्पना गरिएको परियोजना हो। नेपाली भाषा, कला, संस्कृति र परम्पराको संरक्षण, सामाजिक तथा सांस्कृतिक कार्यक्रम, धार्मिक–आध्यात्मिक गतिविधि तथा नयाँ पुस्तालाई नेपाली पहिचानसँग जोड्ने स्थायी थलो बनाउने यसको उद्देश्य रहेको छ।
एनआरएनए जापानले सार्वजनिक गरेको विवरणअनुसार नेपाल हाउसका लागि १ हजार ३८ जनाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। तीमध्ये ७५४ जनाको रकम पूर्ण रूपमा प्राप्त भएको छ भने २८४ जनाको कबोल अझै बाँकी रहेको छ। थप २४ जनाबाट आंशिक रकम प्राप्त भएको जनाइएको छ। कुल कबोल रकम १० करोड ६२ लाख ९० हजार ६७ येन रहेकोमा हालसम्म पूर्ण रूपमा १ करोड ९९ लाख ८३ हजार ७५४ येन प्राप्त भएको छ। आंशिक रूपमा १ करोड ७ लाख ४ हजार ७४ येन प्राप्त भएको छ। अझै ८ करोड ६३ लाख ६ हजार ३१३ येन बराबरको कबोल रकम उठ्न बाँकी रहेको विवरणमा उल्लेख छ। यस हिसाबले हेर्दा कबोलको पहाड ठूलो छ, खातामा जम्मा भएको रकम भने त्यसको तुलनामा निकै सानो देखिन्छ।
सप्ताहमा उत्साह थियो, भावुकता थियो, प्रतिबद्धता थियो। अब त्यसलाई व्यवहारमा उतार्ने परीक्षा सुरु भएको छ। एनआरएनए जापानका कोषाध्यक्ष तथा टोकियो सप्ताह–२०२५ का आर्थिक संयोजक मुक्तिराज रेग्मीले कबोलकर्ताहरूलाई आफ्नो प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन्। टोकियो सप्ताहमा हामीले बोलेका कुरा अब पूरा गर्ने चरणमा छौँ। झण्डै एक वर्ष हुन लागिसकेको छ।
कबोल गरिएको रकम संकलन हुँदै गए नेपाल हाउस निर्माणले पनि गति लिनेछ, रेग्मीले भने। उनले नेपाल हाउस कुनै व्यक्ति वा सीमित समूहको परियोजना नभई सम्पूर्ण नेपाली समुदायको साझा सपना भएको बताए। यो रकम कुनै व्यक्तिको होइन, नेपाली समुदायको साझा सपनाका लागि हो, रेग्मीले भने। अब टोकियो सप्ताहलाई सम्झँदा धर्मगुरुहरूको वाचन, सांस्कृतिक प्रस्तुति र मञ्चका तस्बिर मात्र सम्झेर पुग्ने अवस्था छैन।
कसले कति कबोल गर्यो र कति पूरा गर्यो भन्ने हिसाब पनि त्यही सम्झनाको हिस्सा बनेको छ। किनकि नेपाल हाउस भाषणले होइन, इँटा–इँटा जोडेर बन्ने हो। र इँटा जोड्न कबोल पनि जोडिनुपर्छ। टोकियो सप्ताहमा गुञ्जिएको वचन अब खातामा सुनिनुपर्ने बेला आएको छ। नत्र, मञ्चमा गुञ्जिएको ‘कबोल’ पनि तालीसँगै हराएको एउटा सुन्दर कथा मात्रै बन्न सक्छ।
जय होस!!
प्रतिक्रिया