images

प्रथम जापान लोक तारा २०२६ को फाइनलमा अम्बर बिरही गुरुङको सांगीतिक धमाका

टोकियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ लोक तथा दोहोरी गायक–सर्जक अम्बर बिरही गुरुङ “अम्बर बिरही गुरुङ सांगीतिक साँझ” तथा “प्रथम जापान लोक तारा २०२६” कार्यक्रममा सहभागी हुन जापान आइपुग्नुभएको छ। यही जुन १४ तारिख आइतबार टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा आयोजना हुने उक्त कार्यक्रमका लागि उहाँ जापान आउनुभएको हो।

गुरुङलाई बुधबार नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जापान शाखाका अध्यक्ष समुन्द्र राज पौडेल, प्रतिष्ठानका केन्द्रीय सचिव तथा प्रतियोगिताका निर्णायक संयोजक रामकृष्ण बम मल्ल, केन्द्रीय सदस्य सूर्य खड्का, जापान शाखाका सचिव दीपक कंडेल ‘सफल’, बागलुङ समाज जापानका अध्यक्ष तथा प्रतिष्ठान जापान शाखाका सल्लाहकार गुरु प्रसाद सापकोटा, सल्लाहकार पिताम्बर चापागाईँलगायतले स्वागत गर्नुभएको थियो।

जापान आगमनपछि गुरुङले यहाँ रहेका नेपाली समुदायसँग सांगीतिक भेटघाट गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभएको छ। उहाँको उपस्थितिले कार्यक्रमप्रति दर्शक, श्रोता तथा लोकसंगीतप्रेमीहरूको उत्साह थप बढाउने आयोजकको विश्वास रहेको छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जापान शाखाले आयोजना गरिरहेको “प्रथम जापान लोक तारा २०२६” अन्तर्गत उत्कृष्ट पाँच प्रतिभा फाइनल चरणमा प्रवेश गरिसकेका छन्। प्रतियोगिताको अन्तिम प्रतिस्पर्धासँगै अम्बर बिरही गुरुङको विशेष सांगीतिक साँझसमेत प्रस्तुत गरिने भएकाले कार्यक्रम नेपाली लोकसंगीत, कला र संस्कृतिको भव्य उत्सवका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

प्रतिष्ठानका केन्द्रीय सचिव तथा प्रतियोगिताका निर्णायक संयोजक रामकृष्ण बम मल्लले अग्रज स्रष्टा अम्बर बिरही गुरुङका चर्चित तथा कालजयी गीतहरूको विशेष प्रस्तुति र नवप्रतिभाहरूको फाइनल प्रतिस्पर्धाले कार्यक्रमलाई ऐतिहासिक तथा स्मरणीय बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको तयारीबारे जानकारी दिँदै जापान शाखाका सचिव दीपक कंडेल ‘सफल’ले सम्पूर्ण व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। कार्यक्रमलाई भव्य, व्यवस्थित र सफल बनाउन आयोजक टोली निरन्तर सक्रिय रहेको उहाँको भनाइ छ।

प्रतिष्ठान जापान शाखाका अध्यक्ष समुन्द्र राज पौडेलले जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई नेपाली लोकसंस्कृति, मौलिक कला तथा संगीतको संरक्षण र प्रवर्द्धनमा ऐक्यबद्धता जनाउन आग्रह गर्नुभएको छ।

“अम्बर बिरही गुरुङ सांगीतिक साँझ” तथा “प्रथम जापान लोक तारा २०२६” को फाइनल प्रतिस्पर्धा र विजेता घोषणा एकै मञ्चबाट हुने भएकाले जापानस्थित नेपाली समुदायमाझ कार्यक्रमप्रति विशेष उत्साह र चासो बढ्दै गएको आयोजकले जनाएको छ।

बुधबार २७ जेठ २०८३ ०३:०४ PM मा प्रकाशित

प्रतिक्रिया