images

लहान–२३ करैयामा सडक ढलानपछि जनजीवन सहज

लहान । सिरहाको लहान नगरपालिका–२३ करैयामा नगर स्तरीय योजनाअन्तर्गत निर्माण सम्पन्न भएको सडक ढलानले स्थानीयवासीको दैनिकीमा उल्लेखनीय सुधार ल्याएको छ ।
नवनिर्मित सडकको अनुगमन गर्न नगर प्रमुख महेश चौधरीसहित जनप्रतिनिधि र स्थानीयवासीहरू स्थलगत रूपमा पुगेका थिए ।
अनुगमन टोलीमा वडा अध्यक्ष बद्री यादव, कार्यपालिका सदस्य तेजनारायण ठाकुर लगायतको उपस्थिति रहेको थियो । उनीहरूले सडक निर्माणको गुणस्तर, प्रयोग गरिएको सामग्री तथा यसको प्रभावबारे अवलोकन गरेका थिए ।
स्थानीयवासीका अनुसार ढलान अघि वर्षायाममा हिलो र हिउँदमा अत्यधिक धुलोका कारण आवतजावतमा कठिनाइ हुने गरेकोमा अहिले भने सहजता आएको छ । “पहिले हिँड्नै गाह्रो हुन्थ्यो, अहिले सडक बनेपछि निकै राहत मिलेको छ,” एक स्थानीयले बताए ।
अनुगमनकै क्रममा नगर प्रमुख चौधरीले सडक अतिक्रमण नगर्न, वातावरण स्वच्छ राख्न तथा घरअगाडि वृक्षरोपण गर्न स्थानीयलाई आग्रह गरे । उनले सार्वजनिक सम्पत्तिको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै दीगो विकासका लागि जनसहभागिता अनिवार्य रहेको बताए ।
वडा अध्यक्ष बद्री यादवले सडक निर्माणले करैयाको समग्र विकासमा टेवा पु¥याएको उल्लेख गर्दै आगामी दिनमा थप पूर्वाधार विकासका योजना अघि बढाइने जानकारी दिए । कार्यपालिका सदस्य तेजनारायण ठाकुरले पनि स्थानीयसँगको सहकार्यलाई प्राथमिकता दिँदै विकासका कामलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । नवनिर्मित सडकले करैयाको भौतिक स्वरूप मात्र होइन, स्थानीयवासीको जीवनस्तर उकास्न समेत महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

शनिबार २८ चैत २०८२ ०५:४१ PM मा प्रकाशित

प्रतिक्रिया