काठमाडौँ । ‘समयमै जाँच गरौँ, प्रोस्टेट क्यान्सरलाई जितौँ’ भन्ने सन्देशसहित काठमाडौँ महानगरपालिका स्वास्थ्य विभाग र वडा नं। २२ को सहकार्यमा आयोजित निःशुल्क प्रोस्टेट क्यान्सर परीक्षण शिविरमा ४० वर्षमाथिका १२३ जना पुरुषले स्वास्थ्य जाँच गराएका छन् ।
काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभाग र वडा नं। २२ तथा चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा सम्पन्न उक्त शिविरमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले प्राविधिक सहयोग गरेको थियो । साथै नेपाल व्यापार संघ र लाइन्स क्लव अफ काठमाडौँ आश्था पुञ्जले सहकार्य गरेका थिए ।
वडा नं। २२ का अध्यक्ष चिनिकाजी महर्जनले पैसा भए पनि आफ्नो स्वास्थ्य जाँचप्रति मानिसहरूको बेवास्ता देखिन्छ स त्यसैले समुदायस्तरमै यस्ता कार्यक्रम गरेर स्वास्थ्य जाँचमा जागरूकता ल्याउन यो शिविर गरिएको बताउनुभयो । उहाँका अनुसार विभिन्न संघसंस्था र समुदायसँग सहकार्य गर्दा नागरिकमा वडा कार्यालयप्रति अपनत्व बढ्ने र स्वास्थ्यप्रति सचेतना पनि फैलिनेछ ।
त्यस्तै, सहकारीका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले सहकारीले बीस वर्ष अघिदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, आश्रममा गएर भोजन गराउने, सहयोग गर्ने जस्ता कार्य गर्दै आएको जानकारी दिँदै यसपटक स्वास्थ्य सचेतनालाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँले ४० वर्षमाथिका पुरुषहरूका लागि नियमित प्रोस्टेट परीक्षण आवश्यक बन्दै गएको उल्लेख गर्नुभयो ।
स्वास्थ्यकर्मीहरूले पनि प्रोस्टेटसम्बन्धी रोगहरू प्रारम्भिक चरणमै पत्ता लागेमा उपचार प्रभावकारी हुने भएकाले समयमै परीक्षण गराउन आग्रह गरेका छन् ।
प्रतिक्रिया