जापान, टोकियो जापानमा रहेका नेपाली तथा अन्य विदेशी समुदायलाई लक्षित गर्दै सञ्चालनमा आएको लोकप्रिय रेमिट्यान्स कम्पनी Yehey Remit ले टोकियोको प्रमुख व्यावसायिक क्षेत्र आकिहाबारामा आफ्नो नयाँ कार्यालयको भव्य उद्घाटन गरेको छ। प्रवासी नेपालीहरूको कमाइलाई सुरक्षित रूपमा स्वदेश पठाउने उद्देश्यसहित विस्तार गरिएको उक्त कार्यालयको मे ९ शनिबार विशेष समारोहबीच औपचारिक शुभारम्भ गरिएको हो।
टोकियोस्थित इन्टरनेसनल एक्ट बिल्डिङमा आयोजित उद्घाटन कार्यक्रममा परम्परागत हिन्दू विधिअनुसार पण्डितद्वारा पूजाआजा गरिएको थियो भने अतिथिहरूले रिबन काटेर कार्यालयको उद्घाटन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका कार्यकारी प्रमुख नविन निउरे ले प्रवासमा रहेका नेपालीहरूलाई छिटो, भरपर्दो र सुरक्षित रेमिट्यान्स सेवा प्रदान गर्न कम्पनी पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले विदेशमा पसिना बगाएर कमाएको रकम परिवारसम्म पठाउँदा सेवाग्राहीले भोग्दै आएका ढिलो प्रक्रिया, झन्झटिलो प्रणाली तथा उच्च शुल्कको समस्यालाई समाधान गर्न आधुनिक डिजिटल प्रविधिमार्फत सेवा सहज र प्रतिस्पर्धी बनाइएको स्पष्ट पार्नुभयो।
कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का वरिष्ठ उपाध्यक्ष रोविन शेरचन ले सुरक्षित र भरपर्दो माध्यमबाट प्रवासमा आर्जन गरेको रकम नेपालस्थित परिवारसम्म पुर्याउन येहे रेमिट प्रभावकारी विकल्प बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले रेमिट्यान्स क्षेत्रमा अनुभव हासिल गरेका युवाहरूको लगानीमा संस्था सञ्चालनमा आएकाले यस क्षेत्रलाई थप नयाँ उचाइमा पुर्याउन सञ्चालकहरूलाई आग्रह गर्नुभयो।
त्यसैगरी, एनआरएनए आईसीसीका निवर्तमान अध्यक्ष महेश श्रेष्ठ ले नेपाली समुदायका लागि सहयोगी र विश्वासिलो सेवा प्रदायकका रूपमा कम्पनी स्थापित हुने विश्वास व्यक्त गर्नुभयो।
समारोहमा एनआरएनए आईसीसीका उपमहासचिव प्रकाशमणि पोखरेल, सचिव शिवप्रसाद पौडेल, एसिया प्यासिफिक संयोजक दीपक कँडेल, एनआरएनए जापानका अध्यक्ष सुभास लामिछाने, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष रवीन्द्र श्रेष्ठ लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, व्यवसायी, समाजसेवी तथा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपाली युवाहरूको पहलमा करिब एक वर्षअघि स्थापना भएको यस कम्पनीले छोटो समयमै जापानवासी नेपालीहरू—विशेषगरी विद्यार्थी, कामदार तथा व्यवसायीहरूबीच विश्वास कमाउन सफल भएको बताइएको छ। कम्पनीको सञ्चालक समितिमा कार्यकारी प्रमुख नविन निउरेसँगै सुभास लामिछाने, सुरेशचन्द्र उपाध्याय, मनोज दाहाल, विशाल शर्मा, नारायण सापकोटा, जीवन क्षेत्री र मुक्तिराज रेग्मी निर्देशकका रूपमा आबद्ध छन्।
जापानमा अध्ययन, रोजगारी तथा व्यवसायका सिलसिलामा नेपालीहरूको संख्या निरन्तर बढिरहेको सन्दर्भमा सुरक्षित र विश्वासिलो माध्यमबाट स्वदेश रकम पठाउने आवश्यकतालाई येहे रेमिटको नयाँ कार्यालय तथा विस्तारित सेवाले थप सहज बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा उपस्थित अतिथिहरूले विदेशको कमाइलाई परिवारको खुसीसँग जोड्ने कम्पनीको अभियानले आगामी दिनमा अझ व्यापक सफलता हासिल गर्ने विश्वास व्यक्त गर्दै शुभकामना दिएका थिए।
प्रतिक्रिया