images

गल्कोट समाज कान्साईको ‘प्रथम मौलिक तीज गीत प्रतियोगिता–२०२६’ हुँदै

ओसाका, जापान । गल्कोट समाज जापान क्षेत्रीय समिति कान्साईको आयोजनामा नेपाली मौलिक संस्कृति, कला तथा तीज पर्वको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ‘प्रथम मौलिक तीज गीत प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ।

समाजका अध्यक्ष सन्देश बुढाथोकीका अनुसार प्रतियोगिता २०२६ सेप्टेम्बर ११ तारिख शुक्रबारका दिन ओसाकास्थित ओसाका युथ सेन्टर कोकोप्लाजामा दिउँसो २ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुनेछ।

प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिने समूहलाई आकर्षक नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको प्रथम पुरस्कार ७ लाख ७७ हजार ७७७ जापानी येन, द्वितीय पुरस्कार ५५ हजार ५५५ जापानी येन तथा सान्त्वना पुरस्कार २२ हजार २२२ जापानी येन रहेको छ। सान्त्वना पुरस्कार दुई टिमलाई प्रदान गरिनेछ।


प्रतियोगितामा सहभागी हुने प्रत्येक टिमले ५ हजार जापानी येन दर्ता शुल्क बुझाउनुपर्नेछ। टिम दर्ताको अन्तिम मिति २०२६ सेप्टेम्बर ५ तारिख साँझ ५ बजेसम्म तोकिएको समाजका उपाध्यक्ष कौशल बोहोराले बताए। 

आयोजकका अनुसार प्रत्येक टिममा ७ देखि ११ जना सहभागी हुनुपर्नेछ। प्रतियोगितामा प्रस्तुत गरिने गीत तथा नृत्य नेपाली मौलिक तीजको भाका र लयमा आधारित हुनुपर्नेछ। साथै, सहभागीहरूले नेपाली मौलिक पोसाक अनिवार्य रूपमा लगाउनुपर्ने व्यवस्था गरिएको छ।

गल्कोट समाज जापान क्षेत्रीय समिति कान्साईले नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षणसँगै जापानमा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ। आयोजकले जापानमा रहेका नेपाली समुदाय, विभिन्न संघ–संस्था तथा कला र संस्कृतिप्रेमीहरूलाई प्रतियोगितामा सहभागी भई नेपाली मौलिक तीज संस्कृतिको संरक्षण तथा प्रवर्द्धन अभियानमा साथ दिन आग्रह गरेको छ।

बिहीबार २८ साउन २०८३ ०६:४४ PM मा प्रकाशित

प्रतिक्रिया