काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेले ‘के घर के डेरा ः घर नं २’ मा ठूलो संख्यामा स्टार कलाकार रहे पनि कथाको उठान र बैठानमा समस्या नरहेको बताएका छन् । चलचित्रमा धेरै पात्रको कथा रहेको तर त्यसको उठान र बैठान सरल र कुशल रहेको खगेन्द्रको दाबी छ । उनी आफैँ पनि सबै पात्रको सहज ल्यान्डिङ देखेर छक्क परेको बताएका हुन् । ‘म आफैँ पनि लेख्ने भएकाले धेरै पात्र हुँदा कसरी हरेक पात्रलाई सहज ल्यान्डिङ गर्ने भन्नेमा अलमलमा हुन्छु । तर यो चलचित्रमा त्यस्तो छैन,’ उनले भने, ‘यसमा लेखकले लेख्दा पनि धेरै काम भएको होला । निर्देशकले पनि यसमा काम गरेको देखिन्छ, जसका कारण हरेक क्यारेक्टरको सहज ल्यान्डिङ छ ।’ उनले यो चलचित्रमा अचनाक काम गरेको बताएका छन् । चलचित्र ‘विमान’को काममा व्यस्त रहेका बेला निर्देशक दीपेन्द्र के खनालले यो क्यारेक्टरमा तपाईंबाहेक अरु कोही पनि हुँदैन भनेपछि आबद्ध भएको उनको भनाइ छ । अरु निर्देशकले बोलाएको भए सायद नगर्ने उनले बताए । दीपेन्द्रसँग छुट्टै खालको बन्डिङ भएको उनले बताए । ‘दिउँसो ‘के घर के डेरा ः घर नं २’मा काम गरेर रातिराति विमानको काम गर्थें,’ उनले भने । क्यारेक्टरका लागि काम गर्ने समय धेरै नरहेकाले आफूले आफ्नो चरित्र निर्माणको सबै काम निर्देशकमा छोडिदिएको अभिनेता खगेन्द्रले स्मरण गरे । ‘म विमानको कामको प्रेसरमा थिएँ । त्यसैले क्यारेक्टरमा लामो समय लिएर काम गर्न सम्भव थिएन,’ उनले भने, ‘मैले यो कुरा निर्देशकलाई भनेको थिएँ । उहाँले जसरी काम लगाउनुभयो, मैले त्यसैगरी डिरेक्टर एक्टर भएर काम गरेको हुँ ।’ ‘दिमाग खराब’मा पनि आफूले यसैगरी काम गरेको उनले स्मरण गरे । त्यसैले यही दुई सिनेमामा आफूले गरेको कामको श्रेय पनि निर्देशकलाई जाने उनको भनाइ छ । ‘के घर के डेरा ः घर नं २’मा घरभेटी, डेरावाल तथा घर र डेरा नै नभएको व्यक्तिको कथा रहेको उनले प्रष्ट पारे । यो नै चलचित्रको सुन्दर पक्ष भएको उनको भनाइ छ । यही कारण यो चलचित्र सबैको मन छुने उनको भनाइ छ । उनले गाउँबाट सहर आएर संघर्ष गर्ने मानिसहरूको कथा भएको बताए । त्यसैले यसलाई मौलिक कथा भन्न उनी रुचाउँछन् । ‘के घर के डेरा ः घर नं २’ जेठ २ गते रिलिज हुँदै छ । चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । चलचित्रमा खगेन्द्र लामिछानेसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ । चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा ः घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।
प्रतिक्रिया