ओसाका, जापान । जापानको ओसाकामा आयोजित “वर्ल्ड एक्स्पो २०२५” सोमबार एक भव्य समापन समारोहका साथ सम्पन्न भएको छ। “हाम्रो जीवनका लागि भविष्यको समाजको डिजाइन” भन्ने मुख्य नाराका साथ चलेको यो विश्व प्रदर्शनीमा १५८ राष्ट्र तथा क्षेत्रहरू र ७ अन्तर्राष्ट्रिय संस्था सहभागी भएका थिए।
एक्स्पोको १३ अप्रिल २०२५ मा सुरुवात भएर लगातार ६ महिनासम्म ९१८४ दिन० चलेको यो विश्व प्रदर्शनीमा करिब २ करोड ५० लाखभन्दा बढी आगन्तुकले अवलोकन गरेको आयोजकले जानकारी दिएका छन्। ओसाका शहरको युमेशिमा टापुमा आयोजना गरिएको यो एक्स्पोमा नवप्रवर्तन, प्रविधि, दिगो विकास, र विश्व सहअस्तित्वका नयाँ अवधारणाहरू प्रस्तुत गरिएका थिए।
समापन समारोहमा जापानका युवराज आकिशिनो र प्रधानमन्त्री इशिबा शिगेरुले सहभागिता जनाएका थिए। उनीहरूले विश्व समुदायबीच एकता, सहिष्णुता र साझेदारीका माध्यमबाट साझा चुनौतीहरूको समाधान खोज्नुपर्ने आवश्यकता औंल्याएका थिए।
उद्घाटनदेखि नै चर्चामा रहेको यो एक्स्पोमा विश्वका विभिन्न देशका सांस्कृतिक कार्यक्रम, नवीनतम प्रविधि प्रदर्शन, र भविष्यको जीवनशैलीका परिकल्पनाहरू प्रस्तुत गरिएका थिए। अन्त्यतिर भीड अत्यधिक बढ्दै गएको र दैनिक दुई लाखभन्दा बढी आगन्तुक पुगेको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
एक्स्पोको झण्डा हस्तान्तरण समारोहमा आगामी विश्व प्रदर्शनी सन् २०३० मा साउदी अरबको रियादमा आयोजना हुने भएकाले उक्त झण्डा रियादका प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो।
ओसाका वर्ल्ड एक्स्पोले जापानको अर्थतन्त्र, पर्यटन र अन्तर्राष्ट्रिय छविमा सकारात्मक प्रभाव पारेको बताइन्छ। एक्स्पोको मुख्य आकर्षण ‘ग्र्यान्ड रिङ’ नामक वृत्ताकार काठ संरचना र आधुनिक प्रविधिमा आधारित प्रदर्शनीको विश्व वल्र्ड रेकर्ड अफ गिनिज बुकमा समेत नाम दर्ता गराएको थियो ।
एक्स्पोका आयोजकहरूका अनुसार, “भविष्यका लागि प्रेरणा, विश्व एकताको प्रतीक, र दिगो विकासको मार्ग” यस प्रदर्शनीको प्रमुख उपलब्धि बताईएको छ ।
प्रतिक्रिया