तेजन खड्का, नेपाल न्यूज बैक
मोरङ । कोशी प्रदेशमा रहेका धिमाल समुदायको मौलिक पर्व जात्री पर्व आजबाट सुरु भएको छ । धिमाल समुदायले वैशाख २ गतेदेखि असार २ गतेसम्म जात्री पर्व मनाउँछन् । नेपालका आदिवासी धिमाल जातिको उद्गमस्थल मानिएको मोरङको भोगटेनीस्थित राजारानीमा मेला लगाएर जात्री पर्व सुरु हुन्छ ।
ग्रामथानमा हाँस कुखुरा, सुँगुरलगायतको बलि दिएर यो पर्व प्रारम्भ गरिन्छ । मोरङको भोगटेनीबाट सुरु भएपछि धिमालका बस्तीको टोल टोलमा यो पर्व पुग्ने गर्छ । प्रकृतिपुजक धिमाल रोगब्याधि नलागोस्, बाली बिरुवा लगाउने बेलामा वर्षात् होस्, जंगली जनावरले दुःख नदियोस्, भन्ने कामनासहित महाराजथानमा गएर सामूहिक पूजाआजा गर्ने गर्छन् । परापूर्वकालमा धिमालले यी समस्या समाधान गर्न ग्राम धानमा पूजा गर्दा कामना पूरा भएपछि यसलाई निरन्तरता दिँदै मनाउँदै आएको जनविश्वास छ ।
सिर्जातअर्थात् सामूहिक पूजा वा जात्री नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगब्याधि नलागोस्, शोक नपरोस् र सुख शान्ति छाओस् भनेर मनाइने गरिएको सञ्चारकर्मी विजय धिमालले बताए ।
यो पर्वमा धर्म ठाकुर, लक्ष्मी, चौमाझी, बूढा ठाकुरलगायतको पूजा गरिने उहाँले जानकारी दिए । यस पर्वले धिमाल जातिमा आपसी सम्बन्धमा प्रगाण बनाउँदै बन्धुत्वको भावना विकास गराउने धिमाल अगुवाको भनाइ छ ।
असार संक्रान्तिसम्म मनाइने यो पर्व धिमालका जातिको बाहुल्यता रहेको ९८ वटै टोलमा मनाइने गरिएको छ । जात्रीको अवसरमा गाउँ गाउँमा मेलाको आयोजना हुने गरेको छ । जात्रीमा धिमाल आफूले भाकल गरेअनुसार वस्तु चढाउने पनि गर्दछन् धिमालले दुःख– बिरामी नहोस्, सन्तान प्राप्ति होस् भन्ने मनोकामना राख्ने र ती पूरा भएपछि जात्रीका बेलामा देउतालाई भाकलअनुसारका वस्तु चढाउने गर्दछन् । यो बेलामा धिमालका घरमा पाहुना आउने र उनीहरूलाई मासु तथा ‘चिचिरी’, ‘बगिया’लगायतका परिकार खुवाउने पनि गरिन्छ ।
धिमाल वैशाखदेखि असारसम्मका दुई महिना धिमालका प्रत्येक १०५ वटा टोलमा ढोल बजाएर रमाइलो गर्ने गरेको धिमाल पत्रकार मञ्चका अध्यक्ष विजय धिमालले बताए । मोरङको उर्लाबारीस्थित मंगलबारेमा रहेको धिमाल जाति विकास केन्द्रको परियोजनास्थलमा दुई महिनापश्चात् सांस्कृतिक मेलाको आयोजना गरी जात्री पर्व समापन गरिन्छ । मेलामा ढोलको आवाज ढङ ढङ आउने हुनाले कतिपयले जात्रीलाई ढङढङे पनि भन्ने गरेका छन् ।
प्रतिक्रिया