बाजुरा । बाजुरा जिल्लामा ‘स्थानीय नेतृत्वमा आधारित, डिजिटल रुपान्तरणका लागि राष्ट्रिय मञ्च’ ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन २०२६ सञ्चालन हुने भएको छ जिल्लाका चार स्थानीय तह बडीमालिका बुढीगंगा,बुढीनन्दा र त्रिवेणी नगरपालिकाको संयुक्त नेतृत्वमा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन २०२६ को आयोजना गरिने भएको हो । आगामी असार १३ र १४ गते हुने शिखर सम्मेलनमा अन्तिम तहका समुदायका वास्तविकता,प्रदेश प्रणाली, राष्ट्रिय नीति,साझेदारी र लगानीलाई जोड्ने अपेक्षा लगिएको छ ।बाजुराबाट सुरु भई सुदूरपश्चिम प्रदेशको धनगढी हुँदै संघीय राजधानी काठमाडौंसम्म सम्मेलन सञ्चालन हुने छ । बिहीबार सदरमुकाम मार्तडी, बडीमालिका नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गरि शिखर सम्मेलनको बिषयमा जानकारी गराईएको हो । जिल्लामा सम्मेलनको समन्वय बडीमालिकाका नगर प्रमुख अमर खड्काले गर्ने भएका छन् ।
नेपालको दुर्गम तथा अन्तिम तहका समुदाय,अग्रपंक्तिका स्वास्थ्यकर्मी,महिला स्वयंसेविका,स्थानीय सरकार र स्वास्थ संस्थाका वास्तविक अनुभवलाई डिजिटल स्वास्थ रुपान्तरणको राष्ट्रिय संवाद, नीति, साझेदारी लगानीसंग जोडिने छ । सम्मेलन स्थानीय सरकारको नेतृत्वमा प्रदेशस्तरीय सरोकारवाला निकाय,स्मार्ट हेल्थ ग्लोबलको प्राविधिक तथा कार्यान्वयन नेतृत्व,स्वास्थ खवर फाउन्डेसनको मिडिया तथा समन्वय नेतृत्व लगायत साझेदार संस्थाहरुको सहकार्य सञ्चालन हुनेछ ।पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै नगर प्रमुख अमर बहादुर खड्काले समग्र बाजुरा जिल्लाको स्वास्थ्य क्षेत्रमा देखिएका समस्या,चुनौती र आगामी दिनमा राज्यले लिनुपर्ने दायित्वका बिषयमा सबै सरोकारवाला निकायलाई एउटै मञ्चमा राखेर कार्यक्रमको आयोजना गर्न लागिएको बताए ।उनले पालिका स्तरमा हुने दुई दिनको कार्यक्रममा पहिलो दिन बुढिनन्दा र बुढिगंगाका स्वास्थ क्षेत्रका बिषय टेलिहेल्थको कार्यक्रम,समस्या,चुनौति र समाधानका उपायबारे छलफल गरिने जानकारी दिए । छलफल पश्चात् दुईटै पालिकामा भएको निष्कर्षलाई सदरमुकाममा विभिन्न क्षेत्रका विचार,विमर्श,प्रस्तुतिकरण,बहसका कार्यक्रम गरि बाजुरा घोषणापत्र प्रकाशित गरिने बताएका हुन् ।जिल्लामा हुने सम्मेलनमा स्थानीय वास्तविकता,समुदायका आवाज,अग्रपंक्तिका स्वास्थ्यकर्मीका अनुभव,महिला र स्वास्थ्य स्वयंसेविकाको भूमिका,स्थानीय सरकारको नेतृत्व र डिजिटल स्वास्थ्यका व्यवहारिक अभ्यासहरु प्रस्तुत गरिने छन् । बाजुराको अन्तिम तहमा स्वास्थ्य सेवाको वास्तविक अवस्था हेर्न,बुझ्न र परिवर्तनको सहयात्री बन्न साझा आमन्त्रण समेत गरिएको छ ।सम्मेलनले अन्तिम तहका वास्तविक व्यवहारिक प्रमाण,प्रदेशस्तरिय प्रतिबद्धता, राष्ट्रिय नीति संवाद र लगानीयोग्य सिफारिसमा रुपान्तरण गर्ने अपेक्षा लगिएको छ । सम्मेलनमार्फत समुदायका आवाज, स्थानीय सरकारको नेतृत्व, स्वास्थ्यकर्मीका अनुभव, डिजिटल स्वास्थ्यका व्यवहारिक अभ्यासलाई राष्ट्रिय तहमा प्रस्तुत गरिने छ ।आयोजकले विकास साझेदार,दातृ निकाय, प्रायोजक, विश्वविद्यालय,सञ्चारमाध्यम,स्वास्थ्यकर्मी, प्रविधि तथा डिजिटल स्वास्थ नवप्रर्वतनकर्ता,नीति निर्माता, अनुसन्धानकर्ता र विश्वव्यापी डिजिटल स्वास्थ्य नेतृत्वकर्ताहरुलाई सम्मेलनमा सहभागी हुन आग्रह समेत गरिएको छ । यस सम्मेलनले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुको उजागर गर्न सहयोग पुग्ने विश्वास लगिएको छ ।प्रदेश तह धनगढीमा हुने सम्मेलनमा जिल्लास्तरिय प्रमाण,अनुभव र सिकाईलाई सुदूरपश्चिम प्रदेशको स्वास्थ प्रणाली,योजना एकीकरण र विस्तारसंग जोड्ने बिषयमा छलफल गरिने छ । भने राष्ट्रिय तहमा हुने सम्मेलनमा स्थानीय तथा प्रदेशबाट प्राप्त प्रमाण,अनुभवलाई राष्ट्रिय नीति,संवाद साझेदारी,लगानी र नेपालको डिजिटल भविष्यसंग जोडिनेछ ।
प्रतिक्रिया