images

बिहुँकोट समाज जापान कान्साई क्षेत्रीय समितिद्वारा बिबिक्यू तथा भेटघाट कार्यक्रम आयोजना

ओसाका, जापान — जापानमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा तथा सांस्कृतिक एकता अभिवृद्धि गर्ने उद्देश्यले बिहुँकोट समाज जापान, कान्साई क्षेत्रीय समितिले विशेष “BBQ तथा भेटघाट कार्यक्रम” आयोजना गर्ने भएको छ।

आगामी मे २१, २०२६ बिहीबार आयोजना हुने उक्त कार्यक्रम बिहान ९:०० बजेदेखि साँझ ६:३० बजेसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ। कार्यक्रम ओसाकामा आयोजना हुनेछ। कार्यक्रममा BBQ सँगै विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति पनि रहने बताइएको छ। विशेष आकर्षणको रूपमा नोमती बाजा समूह ओसाकाको सांगीतिक प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ। साथै कार्यक्रममा नेपाली मौलिक बाजागाजा, मनोरञ्जन तथा सामूहिक भेटघाटमार्फत नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गरिनेछ।

समाजका अध्यक्ष लक्ष्मण न्यौपानेले जापानमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा सहभागी भई आपसी सम्बन्ध अझ मजबुत बनाउन आग्रह गरेका छन्। आयोजकका अनुसार कार्यक्रमले जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आयोजक समितिका पदाधिकारीहरूसँग सम्पर्क गर्न सकिने जनाइएको छ।

शुक्रबार​ १ जेठ २०८३ ०३:१५ PM मा प्रकाशित

प्रतिक्रिया