images

सर्लाहीमा पछिल्लो एक महिनामा ५० जना मानिस हराए : २३ जना मात्रै फेला

 

सर्लाही । सर्लाहीमा पछिल्लो एक महिनामा ५० जना मानिस हराएको तथ्य सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार हराएकामध्ये २३ जनालाई मात्रै फेला पारिएको छ भने बाँकी २७ जनाको अझै अत्तोपत्तो लागेको छैन ।

प्रहरीको विवरण अनुसार हराउनेमध्ये १७ जना महिला, ३ जना बालक, २६ जना बालिका र ४ जना ज्येष्ठ नागरिक रहेका छन्। उक्त अवधिमा कुनै पनि पुरुष हराएको विवरण दर्ता भएको छैन । जिल्ला प्रहरी कार्यालय सर्लाहीले सार्वजनिक गरेको बिबरणले हराउनेमध्ये बालिकाको संख्या सबैभन्दा बढी रहेको छ ।

यसैगरी, असार महिनामा प्रहरीले ९ जना महिला, १ जना बालक, १२ जना बालिका र १ जना ज्येष्ठ नागरिक गरी कुल २३ जनालाई फेला पारेको जनाएको छ । प्रहरीको बिबरण अनुसार हराएका ५० जनामध्ये झण्डै आधाभन्दा कम अर्थात् २३ जना मात्रै फेला परेका छन्। अझै २७ जना सम्पर्कविहीन रहेकाले उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

हराउने घटनामा बालिकाको संख्या उल्लेख्य देखिएपछि अभिभावकको निगरानी, बालबालिकाको सुरक्षा तथा समुदायस्तरमा सचेतना बढाउनुपर्ने आवश्यकता देखिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले हराएका व्यक्तिको खोजीलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।

यद्यपि, सर्लाहीमा हराउने व्यक्तिको संख्या भने नयाँ विषय होइन । पछिल्ला केही महिनादेखि जिल्ला प्रहरी कार्यालयको मासिक विवरणमा पनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराउने घटना निरन्तर देखिँदै आएको छ। प्रत्येक महिना केही व्यक्तिहरू फेला परे पनि उल्लेख्य संख्यामा मानिस सम्पर्कविहीन रहने अवस्था दोहोरिइरहेको छ ।

विशेषगरी बालिका हराउने घटना सबैभन्दा बढी देखिनु चिन्ताको विषय बनेको छ। हराउने घटनामा अपेक्षित रूपमा कमी आउन नसक्नुले प्रहरीको खोजी अभियानसँगै परिवार, विद्यालय, स्थानीय तह तथा समुदायस्तरमा सचेतना अभिवृद्धि र बालबालिकामाथिको निगरानी थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ।

सीमावर्ती जिल्ला भएकाले भारतसँगको खुला सीमाको दुरुपयोग हुन सक्ने जोखिमलाई समेत मध्यनजर गर्दै सम्बन्धित निकायबीचको समन्वय अझ प्रभावकारी बनाउनुपर्ने सरोकारवालाहरूको भनाइ छ।

मङ्गलबार ५ साउन २०८३ ११:३५ AM मा प्रकाशित

प्रतिक्रिया