दिनेश थापा
टोकियो, जापान . बागलुङ जिल्लामा जन्मिएका लोकदोहोरी गायक सूर्य खड्का र भलिबल खेलाडी भविन थापा जापानमा आयोजित एक विशेष कार्यक्रममा सम्मानित भएका छन्। बागलुङ समाज जापानद्वारा आयोजित कार्यक्रममा उनीहरूको कला, संस्कृति तथा खेलकुद क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गरिएको हो।
लोकदोहोरी गायक सूर्य खड्कालाई “बागलुङ रत्न” सम्मान प्रदान गरिएको छ। खड्काले नेपाली लोकगीत–संगीतमार्फत देशभित्र तथा विदेशमा रहेका नेपाली समुदायबीच संस्कृति प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलेको भन्दै सम्मान गरिएको हो। जापानमा रहँदै आएका उनी एक चर्चित लोकदोहोरी गायकका रूपमा स्थापित भइसकेका छन्। उनका गीतहरूले विशेषगरी विदेशमा रहेका नेपालीहरूको पीडा, भावना र जीवन भोगाइलाई उजागर गर्दै व्यापक लोकप्रियता हासिल गरेका छन्।
सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै खड्काले “बागलुङ रत्न” प्राप्त गर्नु आफ्नो लागि गौरवको विषय भएको बताए। उनले भने, “गीत–संगीत मेरो पेशा मात्र होइन, जीवनको धड्कन हो। यस सम्मानले मलाई अझ जिम्मेवार बनाएको छ र आगामी दिनमा अझ राम्रो सिर्जना गर्ने प्रेरणा दिएको छ।”
कार्यक्रममा बागलुङ समाज जापानका अध्यक्ष गुरुप्रसाद सापकोटाले खड्काले आफ्नो सांगीतिक यात्रामार्फत नेपाली लोकसंस्कृतिलाई जापानी समाजसम्म चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए। उनले खड्काको योगदान असाधारण रहेको उल्लेख गर्दै उक्त सम्मान त्यसको उचित कदर भएको धारणा व्यक्त गरे।
यसैगरी, बागलुङको गलकोट नगरपालिका निवासी तथा अनुभवी भलिबल खेलाडी भविन थापालाई पनि “चैत्राष्टमी मेला २०२६” को अवसरमा सम्मान गरिएको छ। थापा एक कुशल तथा अनुशासित खेलाडीका रूपमा परिचित छन्, जसले नेपालको राष्ट्रिय खेल भलिबलको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन्। जापानलाई कर्मथलो बनाउँदै आएका उनले यहाँ पनि भलिबल खेलको स्तर उकास्न सक्रिय भूमिका खेल्दै आएका छन्।
अध्यक्ष सापकोटाले थापाको योगदानबारे बोल्दै उनले खेलकुद क्षेत्रमा अनुशासन, समर्पण र नेतृत्वमार्फत नेपाली समुदायलाई सशक्त बनाएको बताए। “भविन थापा केवल खेलाडी मात्र होइनन्, उनी प्रेरणाका स्रोत हुन्,” उनले भने।
यसैबीच, बागलुङ समाज जापानले “चौथो रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०२६” पनि सफलतापूर्वक सम्पन्न गरेको छ। मार्च ४ तारिखमा तोडा स्पोर्ट्स सेन्टरमा सम्पन्न प्रतियोगितामा विभिन्न टोलीबीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा घुम्टे युवा परिवार जापान विजेता बनेको छ भने पिरो स्पोर्ट्स क्लब उपविजेतामा सीमित भएको थियो।
खेल संयोजक बसन्त थापाले प्रतियोगिताले जापानमा नेपाली भलिबलको स्तर उकास्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे। उनले यस्ता कार्यक्रमले युवा खेलाडीलाई प्रोत्साहन मिल्ने र खेलप्रति आकर्षण बढ्ने बताए।
कार्यक्रममार्फत भविन थापा र सूर्य खड्काको योगदानलाई उच्च सम्मान गरिएको छ। साथै, बागलुङ समाजले आयोजना गर्दै आएका यस्ता गतिविधिले जापानमा नेपाली समुदायबीच एकता, सांस्कृतिक पहिचान र खेलकुद विकासमा महत्वपूर्ण टेवा पुर्याउँदै आएको विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया