टोकियो, जापान। जापानमा रहेका नेपाली नागरिकलाई दूतावासीय सेवा अझ सहज, छिटो र प्रभावकारी रूपमा उपलब्ध गराउने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको सहकार्यमा नेपाली राजदूतावासमा ‘नागरिक सहायता कक्ष’ स्थापना गरिएको छ। सहायता कक्षको उद्घाटन कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाली राजदूतावासका कार्यवाहक राजदूत हरिहरकान्त पौडेल, एनआरएनए जापानका पूर्वअध्यक्ष नविन न्यौरे, प्रवक्ता सचिन आचार्य, जनजाति महासंघ जापानका कार्यवाहक अध्यक्ष बुद्धि गौचन तथा मगर संघ जापानका अध्यक्ष भिक्टर थाडा मगर लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष लामिछानेले जापानमा रहेका नेपालीलाई दूतावासीय सेवा प्राप्त गर्न सहज वातावरण सिर्जना गर्ने उद्देश्यले एनआरएनए जापानले आफ्नै कर्मचारी दूतावासमा खटाएर सेवा सहजीकरणको व्यवस्था मिलाएको जानकारी दिनुभयो। उहाँले यो पहल प्रशासनिक सहयोगमा मात्र सीमित नभई नेपाली समुदायका समस्या, जिज्ञासा र आवश्यकतामा साथ दिने संस्थागत प्रतिबद्धताको महत्वपूर्ण कदम भएको बताउनुभयो।
उहाँका अनुसार सहायता कक्षले जापानभर रहेका नेपालीले दूतावासीय सेवा लिँदा भोग्ने विभिन्न कठिनाइ कम गर्न, आवश्यक जानकारी उपलब्ध गराउन तथा सेवा प्रक्रियामा सहजीकरण गर्न सहयोग पुर्याउनेछ।
त्यसैगरी कार्यवाहक राजदूत पौडेलले एनआरएनए जापानको पहलको प्रशंसा गर्दै नागरिक सेवामा केन्द्रित यस्तो कार्य सराहनीय रहेको बताउनुभयो। उहाँले दूतावास र एनआरएनए जापानबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ, प्रभावकारी र परिणाममुखी बन्ने विश्वास व्यक्त गर्नुभयो।
नयाँ स्थापना गरिएको नागरिक सहायता कक्षमार्फत सेवाग्राहीले आवश्यक जानकारी, कागजी प्रक्रिया सम्बन्धी सहजीकरण तथा विभिन्न दूतावासीय सेवासम्बन्धी मार्गदर्शन प्राप्त गर्न सक्नेछन्। यस पहलले जापानस्थित नेपाली समुदायलाई थप सहज, व्यवस्थित र नागरिकमैत्री सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया