images

कृष्णप्रसाद भट्टराई नेपाली इतिहासको एक तिलस्मी पात्र भएको विद्धानहरूको निष्कर्ष

पुष ०८, काठमाडौं । विद्धानहरूले नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई नेपाली इतिहासको एक तिलस्मी पात्र भएको बताएका छन् । भट्टराईको १०१ औं जन्मजयन्तीको अवसरमा सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रले सोमबार राजधानीमा गरेको कार्यक्रममा विद्धानहरूले सद्गुणले भरिएका भट्टराई महान् राष्ट्रवादी चिन्तक भएको टिप्पणी गरे । शालीन व्यक्तित्व सहित दार्शनिक तथा आध्यात्मिक चेत भएका भट्टराईमा अदम्य साहस तथा दृढ इच्छाशक्ति रहेको उनीहरूको टिप्पणी थियो । भ्रष्टाचार विरोधी एवं निष्ठाको राजनीतिमा सबैभन्दा अब्बल सावित भएका भट्टराईको विचारलाई कांग्रेसले अनुशरण गर्न नसकेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरे । कार्यक्रममा नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले शीर्षस्थ नेताहरूको योगदानलाई बिर्सिए पार्टी समाप्त हुने बताए । कांग्रेसमा उच्च योगदान दिएका शीर्ष नेताहरूको योगदानको वस्तुनिष्ठ समीक्षा हुन नसकेको नेता कोइरालाको भनाइ थियो ।

उनले ठोस अध्ययन अनुसन्धान गरी शीर्ष नेताहरूको योगदान उजागर गर्नु आजको पहिलो आवश्यकता भएको बताए । भट्टराई बारे अध्ययन अनुसन्धान गर्नु भएका इतिहासविद् प्राध्यापक डाक्टर राजेश गौतमले दुवै पटक नचाहँदा नचाहँदै भट्टराई देशको प्रधानमन्त्री बन्नु भएको प्रसंग उल्लेख गरे । ‘पहिलो पटक लौह पुरुष गणेशमान सिंहको करबल तथा दोस्रो पटक पार्टी नेतृत्वप्रतिको चरम असन्तुष्टि चिर्न भट्टराईलाई प्रधानमन्त्री बनाइएको हो’ स्वयं भट्टराईसँगको संवाद स्मरण गर्दै गौतमले भने । आफूले अपमान सहेर भएपनि भट्टराईले पार्टीको आदर्शलाई जीवन्त राखेको उनले बताए । भट्टराईलाई पटक पटक चुनाव हराउन देशी विदेशी शक्ति नै लागेको भन्दौ गौतमले पछि त्यसप्रति विदेशी शक्ति (तत्कालीन भारतीय राजदूत) ले माफी मागेको प्रसंग उनले सुनाए । गलत ढंगबाट मुलुकमा राजतन्त्रको अन्त्य भएकोमा भट्टराई असन्तुष्ट रहनु भएको गौतमको भनाइ थियो । इतिहासविद् डाक्टर रमेश ढुंगेलले भट्टराईले सबै प्रकारका सफलता असफलतालाई ‘परमात्माको इच्छा’ को संज्ञा दिने गरेको स्मरण गरे । मुलुक सोच्दै नसोची गणतन्त्रमा गएकोमा भट्टराईमा तीव्र असन्तुष्टि रहेको ढुंगेलले बताए । विभिन्न प्रतिकूलताका बाबजुद समयमै २०४७ सालको संविधान जारी गरी भट्टराईले ‘असम्भवलाई सम्भव’ पार्ने काम गरेको उनको भनाइ थियो । भट्टराई जस्ता महान् नेताहरूको सिद्धान्त अनुशरण गर्न नसकेकाले नै मुलुकले अहिले दुर्गतिको सामना गर्नु परेको ढुंगलले बताए । सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रका अध्यक्ष एवं कांग्रेस नेता लोकेश ढकालले केन्द्रका गतिविधिबारे प्रकाश पार्दै पार्टी नेतृत्वले भट्टराई लगायतका नेताको योगदानलाई स्मरण गर्न नसकेको टिप्प्णी गरे ।

 

मङ्गलबार ९ पुस २०८१ १०:३४ AM मा प्रकाशित

प्रतिक्रिया