काठमाडौं । जापानमा रहेर विगत पाँच वर्षदेखि ट्राभल तथा पर्यटन क्षेत्रमा सेवा प्रदान गर्दै आएको रेड बड ट्राभल्सले नेपालमा पनि आफ्नो शाखा विस्तार गरेको छ। कम्पनीले काठमाडौंको कान्तिपथबाट आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको हो। रेड बड ट्राभल्सले जापान, इन्डोनेसिया, माल्दिभ्स, संयुक्त अरब इमिरेट्स (यूएई), भियतनाम, थाइल्यान्ड तथा युरोपलगायत विभिन्न देशहरूको भ्रमणका लागि टुर प्याकेजको व्यवस्था गर्नुका साथै संसारभरका लागि हवाई टिकट बुकिङ सेवा उपलब्ध गराउने जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण रिमालका अनुसार रेड बड ट्राभल्सले हवाई टिकट, विभिन्न देशका ट्राभल प्याकेज तथा पर्यटनसम्बन्धी अन्य सेवा प्रदान गर्दै आएको छ। रिमालले अस्ट्रेलियामा समेत कम्पनीको ट्राभल सेवा सञ्चालनमा आइसकेको जानकारी दिँदै यसै वर्षभित्र यूएई र स्पेनमा पनि सेवा विस्तार गर्ने योजना रहेको बताए।
उनका अनुसार जापानबाट समेत युरोप, मलेसिया, सिंगापुर, इन्डोनेसिया, भियतनामलगायत विभिन्न देशका लागि टुर प्याकेज सञ्चालन भइरहेको छ। “अब जापानी पर्यटकलाई नेपाल भित्र्याउने उद्देश्यले आवश्यक लाइसेन्स प्राप्त गर्ने प्रक्रिया अगाडि बढाइएको छ,” रिमालले भने, “जापानी पर्यटकलाई नेपाल ल्याउन आवश्यक लाइसेन्सको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।”
उनले नेपालीहरूको उल्लेख्य बसोबास रहेका विभिन्न देशमा क्रमशः रेड बड ट्राभल्सका शाखा विस्तार गर्दै लैजाने कम्पनीको दीर्घकालीन योजना रहेको समेत बताए।
जापानबाट आफ्नो यात्रा सुरु गरेको रेड बड ट्राभल्सले अन्तर्राष्ट्रिय बजारमा सेवा विस्तार गर्दै नेपाली समुदाय तथा विश्वभरका यात्रुहरूलाई सहज, भरपर्दो र गुणस्तरीय ट्राभल सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ।
प्रतिक्रिया