images

जापानको ओसाकामा नेपाली चलचित्र ‘जेरी अन टप’ को भव्य शो हुने

ओसाका, जापान । नेपालसहित विश्वका विभिन्न देशमा प्रदर्शनरत चलचित्र ‘जेरी अन टप’ को जापानको ओसाका शहरमा प्रदर्शन तय भएको छ ।  चलचित्र आगामी डिसेम्बर १ सोमबारका दिन ओसाका सिटी मिनाटो सिभिक सेन्टरमा प्रदर्शन गरिने जनाइएको छ।  प्रेमकथा र साहसिक विषयवस्तुमा बनेको चलचित्रको विशेष प्रदर्शन हुने भएको हो। ओसाकामा प्रदर्शनको जिम्मा गोरखा एक्स एफसीले पाएको छ । 

स्टार अभिनेता अनमोल केसीको करियरकै सर्वाधिक बिजनेस गर्न सफल यो फिल्म अन्तर्राष्ट्रिय बजारमा पनि उच्च मागका साथ प्रदर्शन भइरहेको छ । अनन्या फिल्मस् को ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिसहित निर्माण भएको फिल्ममा सुयोग गुरुङको निर्देशन छ ।

फिल्ममा अनमोलको साथमा आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्त लगायतको अभिनय रहेको छ । सुयोग गुरुङ निर्देशित फिल्म सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथालाई मुख्य विषय बनाइएको छ । ओसाकामा बस्ने नेपाली समुदायका लागि यो शो मनोरञ्जनसँगै नेपाली कला र फिल्म उद्योगलाई समर्थन गर्ने अवसरको रूपमा हेरिएको छ।

शुक्रबार​ १२ मंसिर २०८२ ०२:३८ PM मा प्रकाशित

प्रतिक्रिया