काठमाडौं, भदौ १३ गते । चीनतर्फबाट रसुवा हुँदै आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा हुँदै चितवनसम्मका विभिन्न जिल्लामा ठूलो जनधन तथा भौतिक क्षति भएपछि नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले गहिरो दुःख व्यक्त गरेको छ।
महासंघले बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकहरूको तत्काल खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।
महासंघका अनुसार बाढीबाट प्रभावित जिल्लामा सञ्चालित क्रसर तथा खानी उद्योग, बालुवा प्रशोधन उद्योग तथा उद्योगका भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। त्यस्तै, स्काभेटर, लोडर, टिपरलगायतका मेसिनरी तथा उपकरणमा समेत क्षति पुगेको महासंघले जनाएको छ। बाढीका कारण विद्युत् लाइन तथा अन्य पूर्वाधारमा भएको क्षतिले उद्योग तथा व्यवसाय सञ्चालनमा समेत गम्भीर असर परेको महासंघको भनाइ छ।
महासंघले प्रभावित जिल्लामा रहेका क्रसर तथा खानी उद्योग व्यवसायीहरूलाई आफ्ना उद्योग तथा व्यवसायमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघमा उपलब्ध गराउन अनुरोध गरेको छ। यसैगरी, सरकारले सञ्चालन गरिरहेको खोज, उद्धार तथा राहत अभियानमा महासंघ, महासंघमा आबद्ध उद्योगी–व्यवसायी तथा निजी क्षेत्रबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।बाढीबाट क्षतिग्रस्त उद्योग तथा भौतिक संरचनाको पुनर्निर्माण र पुनःस्थापनाका लागि सरकारसँग आवश्यक सहकार्य गर्न महासंघ तयार रहेको जनाएको छ। महासंघले देश नै प्राकृतिक विपत्तिबाट पीडित भएको वर्तमान संवेदनशील अवस्थामा मानवीय सहयोगलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको छ। विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्न सम्पूर्ण उद्योगी, व्यवसायी तथा आम नागरिकमा महासंघले हार्दिक अपिल गरेको छ।
प्रतिक्रिया