images

उपयुक्त दररेटमा मात्र बोलपत्र पेश गर्न महासंघको अपील 

साउन १४, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले अहिलेको विषम परिस्थितिमा उपयुक्त दररेटमा मात्र बोलपत्र पेश गर्न आफ्ना सदस्यहरूलाई अनुरोध गरेको छ । हाल आव्हान भएका ठेक्काहरूमा समेत पुरानै जिल्ला दररेटमा इस्टिमेट भएको, निर्माण सामाग्री पनि सहज रुपमा उपलब्ध नभएको स्थितिमा न्यून अंकमा बोलपत्र पेश गर्दा भविष्यमा विभिन्न प्रकारका जोखिम आउन सक्ने महासंघले जनाएको छ । महासंघका महासचिव शिवहरि घिमिरेले आर्थिक जोखिम विश्लेषण सहित अन्य कानूनी तथा प्राविधिक जटिलतालाई दृष्टिगत गरी बोलपत्रमा सहभागी हुन अनुरोध गरेका छन् । महासचिव घिमिरेले परियोजनाको स्थलगत भ्रमण पश्चात बोलपत्र कागजात अध्ययन गरी समयमै गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्न आफ्नो क्षमता अनुसार मात्र काम गर्न सक्ने दररेटमा बोलपत्र पेश गर्न अनुरोध गरेका हुन् ।  मध्यपूर्वको युद्धका कारण गत फ्रेबेवरी २८ देखि इन्धन, बिटुमीन लगायत निर्माण सामाग्रीहरूमा भएको अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धिका कारण पूर्वाधार क्षेत्र धराशायी हुन पुगेको महासंघको भनाइ छ । मूल्यवृद्धिको अनुपातमा निर्माण व्यवसायीहरूले प्रचलित ऐन, नियम र नेपाल राष्ट्र बैंकको सूचकांक अनुसार पाउनु पर्ने मूल्य समायोजन नपाउँदा व्यवसायीहरू आर्थिक मारमा परेकाले उपयुक्त दररेटमा मात्र बोलपत्र पेश गर्न व्यवसायीहरूलाई ध्यानाकर्षण गराइएको महासंघका प्रवक्ता समेत रहनु भएका नीतिगत उपाध्यक्ष मंगलबहादुर शाहीले बताए ।

बिहीबार १४ साउन २०८३ ०६:०४ PM मा प्रकाशित

प्रतिक्रिया