images

पीडित परिवारको घरमा प्रदेश सरकारको टोली, नागरिक विमा सुविधाको पहल सुरु

जनकपुर । सप्तरीको रूपनी गाउँपालिका– २ का  बालेश्वर खंग र उनकी  श्रीमती रामकुमारी खंगको करेन्ट लागेर मृत्यु भएपछि मधेश प्रदेश सरकारले गरेको नागरिक वीमा पीडित परिवारले पाउने गरी पहल सुरु गरेको छ । 
खंग दम्पतिको मृत्युपछि परिवारमा समवेदना व्यक्त गर्न मधेश प्रदेश सरकारको उच्चस्तरीय टोली बिहीबार (आज) घटनास्थल सप्तरीको रूपनी २ पौंवा टोल पुगेर विमा सुविधाको लागि पहल सुरु गरिएको जानकारी दिएको छ ।
गत शुक्रवार साँझ सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा बालेश्वर खंगको मृत्यु भएको थियो भने उनलाई बचाउन गएकी उनकी श्रीमती रामकुमारी खंगको समेत करेन्ट लागेर मृत्यु भएको थियो । दैनिक मजदूरीमा जीवन निर्वाह गर्दै आएका खंग दम्पति पछाडि आश्रित परिवार छोडेर गएपछि शोकाकुल बनेको परिवारलाई सान्त्वना दिदै प्रदेश सरकारले वीमाको पहल सुरु गरेको हो ।खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित कुमार यादव, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश कुमार झा, मन्त्रालयका उपसचिव धर्मेन्द्र लाल कर्ण र बीमा कम्पनीका प्रतिनिधि समेतको टोली आज दिउँसो रूपनी गाउँपालिका–२ स्थित खंग परिवारको घर पुगेको थियो ।टोलीले पीडित परिवारसँग भेट गरी घटनाको जानकारी लिएको थियो भने मृतक दम्पतिप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति गहिरो समवेदना प्रकट गरेको थियो। टोलीले खंग परिवारलाई मधेश प्रदेश सरकारले यो वर्ष साउन १ गतेदेखि लागू गरेको नागरिक बीमा कार्यक्रम अन्तर्गत बीमा सुविधा प्राप्त गर्न सकिने जानकारी गराउँदै आवश्यक कागजात संकलन सुरु गरेको जनाएको छ । साथै, प्रक्रिया सहज बनाउन स्थानीय तह र सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको टोलीले स्पष्ट पारेको छ ।
 

शुक्रबार​ १६ साउन २०८२ १०:३४ AM मा प्रकाशित

प्रतिक्रिया