नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रतामाथि सरकारले सीमा नाघेको भन्दै कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । समाचार लेखेकै आधारमा सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गर्ने सरकारी कदमले शाही शासनकालको झल्को दिएको भन्दै उनले यसको सशक्त प्रतिवाद गर्ने बताए ।
सानेपास्थित कांग्रेस मुख्यालयमा विशेष सम्बोधन गर्दै थापाले पछिल्लो समय पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको सचिवालय र प्रहरीको गतिविधि विचित्र र शङ्कास्पद देखिएको टिप्पणी गरे ।
‘पहिले प्रहरीले पत्रकार पक्राउ गर्यो, प्रधानमन्त्रीको सचिवालयबाट ‘हामीलाई केही थाहा छैन’ भन्ने वक्तव्य आयो । फेरि प्रहरीले मध्यराति प्रधानमन्त्री कार्यालयको चासोलाई सम्बोधन गर्न पक्राउ गरिएको भन्यो र शनिबार बिहान त्यो वक्तव्य पनि डिलिट गरियो,’ थापाले भने, ‘अहिले त प्रधानमन्त्रीकै सचिवालयबाट २८ जना पत्रकारको सूची बनाएर प्रहरीकहाँ पठाइएको विषय बाहिर आइसकेको छ ।’
पत्रकार पक्राउ पर्नु र रिहा हुनुमै यो विषय नटुङ्गिने स्पष्ट पार्दै उनले थपे, ‘पत्रकार पक्राउ परे, छुटे, अब सकियो भन्ने होइन । यतिमै विषय सकिँदैन र सक्किनु पनि हुँदैन भन्ने कांग्रेसको स्पष्ट धारणा छ । यसले सरकारले राज्य, नागरिक अधिकार र प्रेस स्वतन्त्रतालाई कसरी बुझेको छ भन्ने गम्भीर प्रश्न खडा गरेको छ ।’
प्रहरी आफैँ निर्णय गरेर मिडिया हाउस नगएको ठोकुवा गर्दै थापाले सत्ताको सनक र सामाजिक सञ्जालको प्रतिक्रियाका आधारमा राज्य चलाउन खोजिएको आरोप लगाए ।
उनको व्यंग्य थियो, ‘केही साथीहरू बसेर समाचार हेर्दै ल केटाहरू, यी ८/१० जनालाई उठाइदे भन्नुभयो होला । फेरि एकछिनपछि अर्को साथीले ए, लाइक घट्यो घट्यो, छाड्दे छाड्दे’ भन्यो । यो प्रवृत्ति अत्यन्तै चिन्ताजनक छ ।’
सरकारमा रहेकाहरूमा ‘हामी नै राज्य (स्टेट) हौँ’ भन्ने अहङ्कार पलाएको गगनको टिप्पणी छ ।
उनले भने, ‘हामीले बोलेको कुरा हुकुम हुन्छ भन्ने ठानेर राज्यका निकाय र शक्तिको स्वेच्छाचारी प्रयोग भइरहेको छ । सरकारमा बसेकाहरूलाई मेरो इच्छा नै कानुन हो भन्ने लाग्न थालेपछि समस्या सुरु हुन्छ । यसलाई सामान्यीकरण गर्न मिल्दैन, अब हद नाघेको छ ।’
प्रतिक्रिया