बझाङमा गत मंगलबारको भूकम्पपछि परकम्प जाने क्रम जारी छ । गएराति पनि दुई पटक परकम्प गएको रेकर्ड छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको रेकर्ड अनुसार गएराति चैनपुर आसपास केन्द्रविन्दु भएर १० बजेर ५२ मिनेटमा ४.५ र १२ बजेर २३ मिनेटमा ३.९ म्याग्निच्युडको परकम्प गएको छ । केन्द्रका अनुसार मंगलबारयता तीन सयभन्दा धेरै साना–ठूला परकम्प गएका छन् । गत मंगलबार बझाङको तालकोट केन्द्रविन्दु भएर ५.३ र चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले अहिले पनि परकम्प जाने र धक्का महसुस भइरहेको जानकारी दिए । ‘मंगलबार छिटो–छिटो र अलि बढी नै धक्का महसुस हुन्थ्यो तर अहिले पनि त्यस्तो अलि कम भएको छ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने, ‘तर धक्का दिने क्रम जारी छ ।’ उनका अनुसार धक्का जाने क्रम विगतको तुलनामा काम हुँदै गएपछि स्थानीयको जनजीवन विस्तारै सामान्य हुँदै जान थालेको छ । ‘मंगलबार र भोलिपल्ट पनि कोही पनि घरभित्र बस्न सक्ने अवस्था थिएन । तर अब भने विस्तारै घरमा जाने र कामकाज गर्ने क्रम सुरु हुन थालेको छ ।’ घर पूरै भत्किएकाहरु अहिले पनि सार्वजनिक स्थानमा टेन्टमुनि बसिरहेका छन् । भूकम्प प्रभाविहरुलाई राहत बाँड्ने क्रम जारी छ । प्रदेश सरकारले उपलब्ध गराएको राहत बिहीबार बझाङ पुगेको छ । आज केन्द्र सरकारले उपलब्ध गराएको राहत ट्रक मार्फत् जिल्ला आउँदै गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए । त्यसअघि रेडक्रस लगायतका संघसंस्थाले टेन्ट र केही खाद्यान्न प्रभावितहरुलाई उपलब्ध गराएका थिए । राहत वितरण एकद्वार प्रणालीबाट भइरहेको छ । भूकम्पबाट कति प्रभावित भए र क्षतिको अवस्था कस्तो छ भनेर अझै पनि एकिन भइसकेको छैन । भूकम्पमा परी १ जनाको मृत्यु र २० जना घाइते भएको विवरण भए पनि भौतिक पूर्वाधारतर्फ भएको क्षति एकीन भइसकेको छैन । क्षतिको यथार्थ विवरण छिटो उपलब्ध गराउन पालिकाहरुलाई जिल्ला विपद व्यवस्थापन समितिले निर्देशन दिएको छ । सबै पालिकाका सबै वडाबाट परिचालित टिमले क्षतिको विवरण संकलन गरिरहेका छन् । ‘क्षतिको यथार्थ विवरण संकलनका लागि प्रत्येक वडालाई क्रियाशील बनाइएको छ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने, ‘एकिन विवरण आएपछि पुनर्स्थापना र पुनर्निर्माणको कामलाई व्यवस्थित गर्छौं ।’ यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भूकम्प प्रभावित बझाङ जिल्ला जाँदैछन् ।
प्रतिक्रिया