विश्वकप २०२६ : अर्जेन्टिना र स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ मा साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । अमेरिकाको एटलान्टा स्टेडियममा मंगलबार राति भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३–२ गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो । खेलको ७८औँ मिनेटसम्म २–० गोलले पछि परेको अर्जेन्टिनाले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै १३ मिनेटभित्र तीन गोल गर्न सफल भयो । इजिप्टका लागि यासेर इब्राहिम र मोस्ताफा जिकोले गोल गरेका थिए भने अर्जेन्टिनाका क्रिस्टियन रोमेरो, लियोनल मेसी र एन्जो फर्नान्डेजले गोल गरे ।

खेलको १५औँ मिनेटमा यासेरले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए । ६७औँ मिनेटमा मोस्ताफाले गोल थप्दै इजिप्टको अग्रता २–० बनाए । तर, ७९औँ मिनेटमा रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काए । त्यसपछि ८३औँ मिनेटमा मेसीले बराबरी गोल गरे भने इन्जुरी समयको दोस्रो मिनेटमा फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई रोमाञ्चक जित दिलाए । यस्तै, अर्को खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा सम्पन्न अन्तिम १६ को खेलमा निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा स्विट्जरल्यान्डले ४–३ गोलको जित निकाल्यो । स्विट्जरल्यान्डका लागि ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले गोल गरे भने कोलम्बियाका जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गरे । 

यो जितसँगै १३औँ पटक विश्वकप खेलिरहेको स्विट्जरल्यान्ड चौथोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । सन् १९५४ को विश्वकपपछि स्विट्जरल्यान्ड समूह चरण वा अन्तिम १६ बाटै बाहिरिँदै आएको थियो । अब सेमिफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डले आइतबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।