पार्टीको नाम र चुनाव चिह्न फेर्ने माओवादी केन्द्रको निर्णय

 काठमाडौँ - नेकपा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न फेर्ने भएको छ । गत माघ १२ देखि २१ सम्म बसेको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नाम, चुनाव चिह्न र पार्टीको संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव गरेका थिए । जसलाई स्थायी कमिटीले अनुमोदन गरेको हो ।

प्रचण्डको प्रस्तावमा, ‘संरचनागत, विधि र पद्धति, नाम र चिह्न लगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जनमनोविज्ञान, भू–राजनीतिक व्यवस्थालाई एवं प्रतिस्पर्धा समेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्छ ।’उल्लेख थियो ।

उहाँले यसका लागि पार्टीभित्र प्रारम्भिक चरणमा तीन महिनाको लागि कार्यक्रम प्रस्ताव गरेका छन् । प्रस्तावमा प्रचण्डले विचार, सिद्धान्त र व्यवहार मिल्नेहरूसँग पार्टी एकता गर्ने र तत्काल एकता सम्भव नभएका वापमन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने प्रस्ताव अगाडि सारेका छन् । 

‘मूलतः वामपन्थी पार्टीहरूसँगको एकतालाई प्राथमिकतामा राखी छलफलहरू गर्ने, पार्टी एकता गर्दा वामपन्थी र गैरवामपन्थीहरू बीचको भेदलाई आत्मसात गर्दै तत् सम्बन्धी नीति र विधिहरू तय गर्ने, तत्काल एकता सम्भव नभएका वामपन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने ।’

प्रचण्डले आधारभूत जनता र वर्गसँग सम्बन्ध टाढिँदा माओवादी खुम्चिँदै गएको पनि स्वीकार गरेका छन् । उनले प्रस्तावमा २०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा ३१ लाखभन्दा बढी मत पाएको माओवादी २०७९ सालमा ११ लाख ७५ हजारमा खुम्चँदै काठमाडौं उपत्यकामा निल हुनुको कारण खोतल्ने प्रयास गरेका छन् । प्रचण्डको यो प्रस्ताव माओवादी स्थायी समिति बैठकले पास गरेपछि माओवादी अब नाम र चुनाव चिह्न फेर्ने निर्णयमा पुगेको छ ।