images

जापानमा जुलाई २५ मा पहिलो ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार टोकियोमा भेला हुने

टोकियो । नेपाल पत्रकार महासंघको इतिहासमै पहिलो पटक ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ जापानमा आयोजना हुने भएको छ। नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा आगामी जुलाई २५ मा टोकियोमा एकदिने सम्मेलन आयोजना गर्न लागिएको हो। विश्वका विभिन्न मुलुकमा क्रियाशील नेपाली पत्रकारहरूलाई एउटै मञ्चमा ल्याई अनुभव आदानप्रदान, सहकार्य अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

सम्मेलनमा विश्वभर छरिएर रहेका नेपाली सञ्चारकर्मी, सञ्चार विज्ञ, डिजिटल मिडिया प्रतिनिधि तथा पत्रकारिता क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रवीन्द्र श्रेष्ठका अनुसार सम्मेलनका लागि नेपाल पत्रकार महासंघ (एफएनजे) केन्द्रीय कार्यसमितिका ३३ जना प्रतिनिधिहरूको जापान प्रवेश भिसा स्वीकृत भइसकेको छ भने अन्य प्रतिनिधिहरूको भिसा प्रक्रिया जारी रहेको छ।

सम्मेलनमा डिजिटल पत्रकारिता, कृत्रिम बुद्धिमत्ता (एआई), सामाजिक सञ्जालको बढ्दो प्रभाव, प्रेस स्वतन्त्रता, प्रवासी पत्रकारिताका चुनौती र अवसर, साथै विदेशमा क्रियाशील नेपाली पत्रकारहरूलाई नेपाल पत्रकार महासंघको मताधिकार प्रदान गर्ने विषयलगायतका समसामयिक एजेण्डामाथि विस्तृत छलफल गरिने जनाइएको छ।

यसका साथै विभिन्न विषयगत प्यानल छलफल आयोजना गरिने र सम्मेलनको निष्कर्षस्वरूप ‘टोकियो घोषणा–पत्र’ सार्वजनिक गर्ने तयारी गरिएको नेपाल पत्रकार महासंघ जापान शाखाले जनाएको छ। आयोजकका अनुसार यो सम्मेलनले विश्वभर रहेका नेपाली पत्रकारहरूबीच व्यावसायिक एकता, सहकार्य र समन्वयलाई थप सुदृढ बनाउनुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपाली पत्रकारिताको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

बिहीबार २५ असार २०८३ ०५:५० PM मा प्रकाशित

प्रतिक्रिया