images

रास्वपा सांसद असिम शाहद्वारा राजीनामाको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले प्रतिनिधि सभा सदस्यको पदबाट राजीनामाको घोषणा गरेका छन् । मंगलबार उनले जेनजी आन्दोलनलाई सरकारले दमन गर्ने र शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउनेजस्ता अमानवीय कदम र नागरिक अधिकारमाथिको ठाडो हस्तक्षेप विवेक र जनताप्रतिको उत्तरदायित्व विपरीत भएको भन्दै राजीनामाको घोषणा गरेको बताए । उनले भने, ‘म असिम शाह, प्रतिनिधि सभाको सदस्यको हैसियतमा, आजको मितिदेखि तत्काल प्रभावका साथ संसद सदस्य पदबाट राजीनामा बुझाएको जानकारी गराउँछु । गत दिनहरूमा भइरहेको जेन्जी आन्दोलनलाई सरकारले दमन गर्ने कार्य, शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउनेजस्ता अमानवीय कदम, र नागरिक अधिकारमाथिको ठाडो हस्तक्षेप मेरो विवेक र जनताप्रतिको उत्तरदायित्व विपरीत भएको छ ।’यस्तै, उनले सांसद पद मात्र नभई नागरिकको आवाज प्रतिनिधित्व गर्ने माध्यम भएको भन्दै तर जब त्यो आवाज नै दबाइयो, र सरकारले नागरिकप्रतिको प्रतिबद्धता तोड्यो, त्यस्तो संसदमा बसिरहनु आफ्नो लागि अब सम्भव नरहेको बताए । उनले भने, ‘सांसद मेरो लागि मात्र पद होइन, नागरिकको आवाज प्रतिनिधित्व गर्ने माध्यम हो तर जब त्यो आवाज नै दबाइयो, र सरकारले नागरिकप्रतिको प्रतिबद्धता तोड्यो, त्यस्तो संसदमा बसिरहनु मेरो लागि अब सम्भव रहेन । म अब सडकमा उत्रेर जेनजी पुस्ता, आफ्ना नागरिक र सत्यका पक्षमा लड्न प्रतिबद्ध छु ।’संसद भवनको सुरक्षाभन्दा बच्चाहरूको ज्यान ठूलो भएको भन्दै भवन जोगाउन हत्या गर्ने अपराध सरकारद्वारा भएको पनि उनको आरोप छ ।उनले संसदमा बसेर चुप लाग्नु, या यस्ता गलत नीतिहरूलाई मौन समर्थन गर्नु पुस्ता,  मतदाता र देशको भविष्यसँग ठूलो विश्वासघात हुने भन्दै दृढ विश्वासका साथ, यो निर्णय गरेको पनि बताए । 
 

मङ्गलबार २४ भदौ २०८२ ०१:२१ PM मा प्रकाशित

प्रतिक्रिया