उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

 काठमाण्डौँ - सत्ता गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्‍ने भएको छ । शुक्रबार बिहान ९ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताए ।

संयन्त्रको बैठक बिहीबारका लागि बोलाइएको थियो। प्रधानमन्त्री दाहाल र संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार अपरान्ह सिंहदरबारमा भेटवार्ता भएपछि संयन्त्र बैठक आज बिहानका लागि सारिएको थियो ।

उक्त बैठक सकेपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले संयन्त्र बैठक शुक्रबार बिहान बस्ने बताएका थिए ।

रवि लामिछाने नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाएको, सुदूरपश्चिममा सत्ता गठबन्धन समर्थनमा बनेको नेकपा एमाले नेतृत्वको सरकार ढलेकोजस्ता बदलिएको राजनीतिक परिस्थितिका बीच उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बोलाइएको छ।