राष्ट्रपति भण्डारीले आज संसद्को संयुक्त बैठकलाई विशेष सम्बोधन गर्ने

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै छिन् । अपराह्न ३ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार राष्ट्रपतिले गर्ने विशेष सम्बोधनको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन्। त्यसपछि संयुक्त बैठकले धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसूची तयार भएको जानकारी दिए ।

नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले आज दिउँसो तीन बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन । संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ ।

दुई कार्यकालसम्म राष्ट्रपति भएकी भण्डारीको आज हुने विशेष सम्बोधनलाई ‘बिदाइ सम्बोधन’को रूपमा हेरिएको छ । नेपालको संविधानले एक व्यक्ति दुई पटक भन्दा राष्ट्रपति हुन नसक्ने प्रावधान राखेको छ । निर्वाचन आयोगले पनि मुलुकको तेस्रो राष्ट्रपतिका लागि आगामी २५ फागुनका लागि नयाँ निर्वाचनको कार्य तालिका सार्वजनिक गरिसकेको छ । जसअनुसार नयाँ राष्ट्रपतिको निर्वाचनका लागि तयारी सुरु गरिसकेको निर्वाचन आयोगले जनाएको छ ।