नयाँ राष्ट्रपति चुन्न पुरानै मतभार

काठमाण्डौँ - निर्वाचन आयोगले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा २०७४ को राष्ट्रपति निर्वाचनकै मतभारबाट निर्वाचन गर्ने तयारी गरेको छ । आयोगले चौंथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयन गर्न २५ फागुनमा मतदान गर्ने गरी निर्वाचन कार्यक्रम घोषणा गरिसकेको छ ।

आयोगले २०७४ सालको राष्ट्रपति निर्वाचनको मतभारलाई नै आधार मानेर नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने तयारी गरेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थलियाले जानकारी दिए । २०७४ सालमा सम्पन्न राष्ट्रपति निर्वाचनमा संघीय संसद्को मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम थियो ।

आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले २०६८ सालको जनसंख्या आधार मानेर २०७४ को राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद्को मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम गरिएको तर अहिले २०७८ मा सम्पन्न जनगणनाको आधिकारिक तथ्यांक सार्वजनिक नभइसकेका कारण पुरानै मतभारलाई आधार मानेर राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गर्नुपर्ने अवस्था आएको जानकारी दिए ।

‘२०७८ मा सम्पन्न जनगणनाको आधिकारिक तथ्यांक सार्वजनिक नभएका कारण अहिले आयोगले पुरानै मतभारबाट निर्वाचन गर्ने अवस्था आएको छ,’ प्रमुख निर्वाचन आयुक्त भने, ‘जनगणनाको नयाँ तथ्यांक सार्वजनिक भए नयाँ मतभारबाटै निर्वाचन गर्छौं तर त्यो सम्भावना कम छ ।’

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐनको अनुसूचीअनुसार देशको कुल जनसंख्यालाई संघीय सांसदको कुल संख्याले भाग गर्दा आउने भागफललाई १ हजारले भाग गर्दा जुन नम्बर आउँछ, सोही नम्बर नै एक संघीय सांसदको मतभार हुन्छ । प्रदेशसभा सदस्यको मतभार पनि सोही प्रक्रियाबाट तय हुन्छ ।

तर, पछिल्लो २०७८ मा सम्पन्न जनगणनाको अन्तिम विवरण औपचारिक रूपमा सार्वजनिक भइसकेको छैन । सोही कारण आयोगले २०६८ को जनसंख्यालाई आधार मानेर २०७४ को राष्ट्रपति निर्वाचनमा प्रयोग गरिएकै मतभारलाई आधार मानेर राष्ट्रपति निर्वाचन गर्न लागेको हो ।

आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन २०७४ को दफा ४ र ५ अनुसार निर्वाचन मिति घोषणा गरी त्यसको जानकारी नेपाल सरकारलाई दिनुपर्ने कानुनी व्यवस्था छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश व्यक्ति भने सो बन्दसूचीबाट नाम फिर्ता नलि“दासम्म राष्ट्रपतिको उम्मेदवार बन्न पाउने छैनन् ।

आयोगले २५ फागुनमा राष्ट्रपति निर्वाचन सम्पन्न भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु गर्नेछ । उपराष्ट्रपतिको निर्वाचन भने ३ चैतमा हुनेछ । राष्ट्रपति र उपराष्ट्रपति चयन प्रक्रियाका लागि काठमाडौंमा नै मतदान हुनेछ ।

आयोगले राष्ट्रपति निर्वाचनका लागि कार्यक्रमसमेत सार्वजनिक गरिसकेको छ । जसअनुसार मतदाता नामावली प्रकाशन १० फागुनमा हुनेछ ।

त्यस्तै, नामावलीउपरको दाबी, विरोध, उजुरीलगायत प्रक्रियाका लागि निवेदन दिन आयोगले १० र ११ फागुनको मिति तय गरेको छ ।

यसैगरी, निवेदन तथा उजुरीउपर छानबिन ११ र १२ फागुनमा हुनेछ भने अन्तिम मतदाता नामावली १२ फागुनमा प्रकाशित गरिने जनाइएको छ ।

निर्वाचनका लागि सबैभन्दा महत्वपूर्ण मानिने उम्मेदवारको मनोनयन दर्ता भने १३ फागुनमा हुनेछ । मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची आयोगले सोही दिन प्रकाशन गर्नेछ भने १४ फागुका दिनमा उम्मेदवारविरुद्ध उजुरी दिने समय निर्धारण गरिएको छ ।

आयोगले उम्मेदवारको मनोनयन र उजुरीउपर छानबिन गरी १४ र १५ फागुनमा निर्णय गर्नेछ भने १५ फागुनकै दिनमा साँझ उम्मेदवारको नामावली प्रकाशित हुनेछ ।

आयोगले उम्मेदवारले नाम फिर्ता लिन चाहेमा १६ फागुनमा फिर्ता गर्न समय निर्धारण गरेको छ । १६ फागुनमा नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ भने २५ फागुनमा राष्ट्रपति चुन्न निर्वाचन हुनेछ । राजधानी दैनिकमा खवर छ ।