images

विप्लव समूहले यात्रुबाहक बस बगाएको घटनास्थलमा उद्धारमा कार्यकर्ता खटाउने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव सीले नारायणगढ–मुग्लिन सडक खण्डमा पहिराले दुईवटा बस बगाएको घटनाले पार्टीलाई स्तब्ध पारेको बताएका छन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै विप्लवले दुईवटा यात्रुबाहक यातायातका साधनलाई पहिरोले बगाउँदा पाँच दर्जन भन्दा धेरै नागरिक वेपत्ता भएको खबरले पार्टी स्तब्ध भएको बताएका हुन् ।
विप्लवले विज्ञप्तिमार्फत प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । ‘केही दिनदेखि परेको अविरल वर्षाको कारण बाढी, पहिरो, डुबान र कटानले देशब्यापी ठूलो धनजनको क्षति भएको छ,’विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहत उपलब्ध गराउन तथा जिउधनको क्षति भएकाहरुको उचित क्षतिपूर्ति यथाशिघ्र उपलब्ध गराउन सरकारसँग माग गर्दछ ।’
विप्लवले नेता कार्यकर्तालाई राहत तथा उद्धारमा जुट्न निर्देशनसमेत दिएका छन् । ‘पार्टीका सबै नेता–कार्यकर्तालाई राहत र उद्धारमा खट्न निर्देशन गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछ,’विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 
 

शुक्रबार​ २८ असार २०८१ ०१:५६ PM मा प्रकाशित

प्रतिक्रिया