काठमाडौं । सबैभन्दा सफल पुरुष टेनिस खेलाडी नोभाक जोकोभिच विम्बल्डन २०२४ को फाइनलमा प्रवेश गरेका छन् ।
लण्डनमा शुक्रबार राति भएको सेमिफाइनलमा विश्व वरियतामा दोस्रो स्थानमा रहेका सर्वियाका जोकोभिचले २५ औं वरियतामा रहेका इटालियन खेलाडी लोरेन्जो मुसेट्टीविरुद्ध ३–० को सहज सेटमा जित निकाल्दै फाइनलमा स्थान बनाएका हुन् ।
घुँडाको शल्यक्रिया भएको पाँच हप्तापछि जोकोभिचले विम्बल्डनको फाइनलमा पुगेर आफ्नो क्षमता प्रमाणित गर्न सफल भएका छन् ।
सात पटकको विम्बल्डन च्याम्पियनले २५ औं वरियता प्राप्त इटालियनलाई ६–४, ७–६ ९७÷२०, ६–४ ले हराएर अल इङ्ल्यान्ड क्लबमा आफ्नो कीर्तिमानी १० औं फाइनलमा पुग्न सफल भए ।
जोकोभिचसँग अब आठौं विम्बल्डन उपाधि जितेर महान रोजर फेडेररको बराबरी गर्ने मौकाको खोजिमा छन् ।
त्यस्तै गत वर्ष अल्काराजसँग पाँच सेटको फाइनलमा भएको नाटकीय हारको बदला लिने मौका पनि हुनेछ । यदि जोकोभिच यस पटक विम्बल्डन च्याम्पियन बन्न सफल भए भने उनी यो उपाधि जित्ने सबैभन्दा पाका खेलाडी बन्नेछन् ।
यसैबीच डिफेन्डिङ च्याम्पियन कार्लोस अल्काराजले पहिलो सेमिफाइनलमा डेनिल मेदभेदेवलाई ६–७, ६–३, ६–४, ६–४ को सेटमा पराजित गर्दै लगातार दोस्रो पटक विम्बल्डन टेनिस ग्रान्डस्लामको फाइनलमा प्रवेश गरेका छन् ।
स्पेनका अल्काराजले दुई महिनाअघि मात्र आफ्नो २१ औं जन्मदिन मनाएका थिए र लगातार दोस्रो विम्बल्डन र चौथो ग्रान्ड स्लाम उपाधि जित्नबाट मात्र एक कदम टाढा छन् ।
कार्लोस अल्काराज र नोभाक जोकोभिचबीचको विम्बल्डन २०२४ को फाइनल जुलाई १४ मा हुने छ ।
प्रतिक्रिया