काठमाडौँ - खल्ती प्रा.लि र नेपाल इ-स्पोर्ट्स एसोसिएसन बिच (NESA) इ-स्पोर्ट्सको पहुँच विस्तारको लागि साझेदारी सम्पन्न भएको छ।
यस साझेदारीले इ-स्पोर्ट्स क्षेत्रमा हुने टूर्नामेंट वा प्रतियोगिताको रजिस्ट्रेसनलाई डिजिटलाइज गरी बिभिन्न सुविधाका माध्यमबाट इ-स्पोर्ट्स को पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ। साथै, खल्तीले गेमिङ इकोसिस्टममा प्रमुख भुमिका खेल्दै नेपालमा गेमिङको सम्भावना र भविष्यबारे सचेतना जगाउने उद्देश्य लिएको छ।
नेपाल इ-स्पोर्ट्स एसोसिएसन एउटा सामाजिक प्रभावकारी संस्था हो जसले समान पहुँचको सुनिश्चितता गरी ई-स्पोर्ट्सलाई पनि महत्वपूर्ण खेलको रूपमा प्रवर्द्धन र विकास गर्ने उद्देश्य लिएको छ। यसबाहेक, खल्तीसँगको यस साझेदारीले भुक्तानी प्रक्रियालाई सुव्यवस्थित र सुरक्षित बनाउन महत्वपुर्ण भुमिका खेल्नेछ।
साझेदारीको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,“हाम्रो लोकप्रिय र युवा लक्षित ब्रान्ड, नेपालको इ-स्पोर्ट्स इकोसिस्टमको डिजिटलाइजेशन र प्रवर्द्धनका लागि नेपाल इ-स्पोर्ट्स एसोसिएसन (NESA) सँग सहकार्य गर्न पाउँदा उत्साहित छौं। यसबाहेक, हामी नेपालका गेमरहरूका लागि सहज र सुविधाजनक भुक्तानी विधि प्रदान गर्दै खल्ती प्रयोग गर्न प्रोत्साहित गर्ने लक्ष्य लिई अघि बढेका छौँ।”
यसैबीच, नेपाल इ-स्पोर्ट्स एसोसिएसनका अध्यक्ष सुरज श्रेष्ठले भने,“नेपालमा इ-स्पोर्ट्स एस्पोर्ट्सका लागि यस किसिमको साझेदारी नयाँ कदम हो र हामी विश्वास गर्छौं कि निजी संस्थाहरूको समर्थनले इ-स्पोर्ट्सहरूलाई नयाँ उचाइमा पुर्याउनेछ।”