टोकियो। जापानस्थित नेपाली राजदूतावास, टोकियोले राहदानी सेवा नयाँ प्रणालीमा स्थानान्तरण (स्विच) गरेको जनाएको छ। दूतावासका अनुसार २०८३ असार २९ गते (१३ जुलाई २०२६) सोमबारदेखि राहदानीसम्बन्धी सेवा नयाँ प्रणालीमार्फत सञ्चालनमा आएको हो।
दूतावासले आवश्यक प्राविधिक तयारी पूरा गरी नयाँ प्रणालीमार्फत राहदानी आवेदन लिन सुरु गरेको जनाएको छ। नयाँ प्रणाली प्रारम्भिक चरणमा रहेकाले आवेदन प्रक्रियामा केही सामान्य प्राविधिक समस्या आउन सक्ने तथा सेवा प्रवाहमा केही ढिलाइ हुन सक्ने सम्भावना रहेको दूतावासले जनाएको छ। प्रणाली पूर्ण रूपमा स्थिर भएपछि सेवा अझ सहज, छिटो र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
यस अवधिमा राहदानी अत्यन्तै आवश्यक परेका सेवाग्राहीलाई मात्रै सेवा प्रदान गरिने दूतावासले स्पष्ट गरेको छ। राहदानी हराएको, राहदानीको म्याद सकिएको वा तत्काल नयाँ राहदानी आवश्यक परेका सेवाग्राहीले अनलाइन आवेदन फाराम भरी आवश्यक कागजातसहित दूतावासमा उपस्थित भई बायोमेट्रिक दर्ता (लाइभ इन्रोलमेन्ट) गराउन अनुरोध गरिएको छ।
दूतावासका अनुसार राहदानीको अनलाइन आवेदन फाराम https://online.nepalpassport.gov.np मार्फत भर्न सकिनेछ।
राहदानी प्रणाली परिवर्तनको संक्रमणकालीन अवधिमा सेवाग्राहीबाट धैर्यता र सहयोगको अपेक्षा गर्दै नेपाली राजदूतावास, टोकियोले सबैप्रति आभार व्यक्त गरेको छ।
प्रतिक्रिया