काठमाण्डौँ - आज सोमवारदेखि सुरु भएको नयाँ आर्थिक वर्ष २०८०र८१ को पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४७ दशमलव शून्य सात अङ्कले बढेर दुई हजार एक सय ४४ दशमलव १६ विन्दुमा पुगेको छ ।
आज म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, लघुवित्त, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । सबैभन्दा धेरै बीपीडब्ल्यू लघुवित्त र युनाइटेड अजोड इन्सुरेन्सको शेयर १० प्रतिशतले बढेको छ ।
आज ७६ लाख ३४ हजार कित्ता शेयर दुई अर्ब ५६ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ८६ लाख रुपैयाँको शेयर किनबेच भयो ।