दोलखा । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले दोलखाका उम्मेदवार पार्वत गुरुङले दोलखालाई जलविद्युत र ऊर्जाको क्षेत्रमा आत्मनिर्भर तथा समृद्ध जिल्लाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले ७५० मेगावाट क्षमताको तामाकोशी तेस्रो जलविद्युत आयोजना राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाइने बताएका छन्।
गुरुङले खिम्ती ठोसे जलाशययुक्त आयोजना निर्माण सुनिश्चित गरिने उल्लेख गर्दै निर्माणाधीन तथा निर्माणको चरणमा रहेका जलविद्युत आयोजनाहरूमा दोलखाली जनतालाई सेयरको प्राथमिक अधिकार दिलाइने बताएका छन्। साथै, विद्युत प्रसारण लाइनबाट प्रभावित नागरिकलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
उनले आगामी पाँच वर्षभित्र जिल्लावासीको स्वामित्वमा १०० मेगावाट सोलार परियोजना विकास गरिने योजना सार्वजनिक गर्दै खिम्ती–१ आयोजनाको सेयर स्वामित्व कानुनबमोजिम स्थानीय जनतामा हस्तान्तरण गरिने बताएका छन्। त्यसैगरी, पाँच वर्षभित्र जिल्लाका प्रत्येक घरधुरीमा विद्युत चुलोको पहुँच पु¥याउने लक्ष्य लिइएको उनले जानकारी दिएका छन्। दोलखाको आर्थिक रूपान्तरण र समृद्धिका लागि ऊर्जा क्षेत्रलाई मुख्य आधार बनाउने उनको भनाइ छ।
प्रतिक्रिया