images

डा शेखर कोइरालाको नेतृत्व स्वीकार्य छ: सुजाता कोइराला

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम पूर्वमन्त्री सुजाता कोइरालाले कोइराला परिवार एकजुट भएर कांग्रेसलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिएकी छिन् । शुक्रबार वालुवाटारस्थित डा। शेखर कोइरालाको सचिवालयमा पुगेर कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले डा।शेखरको नेतृत्व स्वीकार्ने बताइन् ।
‘देशको अवस्था गम्भीर छ । हामी एकजुट भएर अघि बढेनौं भने कांग्रेस रहँदैन, डेमोक्रेसी पनि रहँदैन र मुलुकपनि रहँदैन, हामी कोहीपनि रहँदैनौं । त्यसैले हामी कसैले केही त्याग गर्नैपर्छ,’उनले अगाडि भनिन्,‘हामी कोइराला परिवारमा केही विवाद छैन् । शेखर दाले धेरै मेहेनत गरिरहनुभएको छ, नेतृत्व गरिरहनुभएको छ । उहाँको नेतृत्वलाई सबैले साथ दिनुपर्छ ।’
डा।शेखरको निमन्त्रणामा सचिवालयमा पुगेकी नेतृ कोइरालाले डा।शंशाकलाई पनि एकै ठाउँमा ल्याएर आफ्नो बुबा र हजुरबुबाहरुले देख्नुभएको सपना पूरा गर्नुपर्ने बताइन् । ‘डा।शंशाक पनि यहाँ आउनुपर्छ । हामी उहाँलाई ल्याएरै छाड्छौं । सबै मिलेर अघि बढौं, हामी कोहीबीच विवाद छैन । देशको निकासका लागि हामी एक ढिका हुनुपर्छ ।’
भेटघाटका क्रममा डा। शेखर कोइरालाले धेरै कार्यकर्ता र शुभेच्छुकहरुले कोइराला परिवार एकढिक्का भएको सन्देश दिनुपर्ने इच्छा रहेको सुनाए ।
‘कांग्रेसबीच एकता आवश्यक छ । गिरिजाबाबुले भन्दै आउनुभएको सहमति, सहकार्य र एकताको कुरा आज सान्दर्भिक छ,’उनले अगाडि भने,‘कोइराला परिवारमा सम्बन्ध कहिल्यै विग्रिएको छैन । तर कोहीबेला यताउता हुन्छ, त्यो सामान्य हो । आज सुजाताजी यहाँ आउनुभएको छ, त्यो एकताका लागि आउनुभएको हो । राष्ट्रियता, कांग्रेस र देशलाई बचाउन हामी एक ठाउँमा छौं,’उनले भने ।
आकस्मिक तय भएको भेलामा कांग्रेसका दर्जनौं कार्यकर्ता डा।कोइरालाको सचिवालयमा पुगेका थिए । १४औं महाधिवेशनमा तीनतिर विभाजित भएका डा।शेखर, डा।शंशाक र सुजताबीच १५औं महाधिवेशनमा एकढिक्का गराउन कार्यकर्ता तहबाट दबाब बढेको बताइन्छ । 
 

शुक्रबार​ ४ साउन २०८१ ०६:५१ PM मा प्रकाशित

प्रतिक्रिया