images

कांग्रेस–एमालेबीचको सहकार्य रहर होइन वाध्यता हो ः मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाली कांग्रेस र एमालेबीचको सहकार्य रहर नभइ वाध्यता भएको बताएका छन् ।
नेपाली कांग्रेस बाजुरा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको बधाई एवम सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमाले एक ठाउँमा आउनु बाध्यता भएको स्पष्ट पारे ।
‘कांग्रेस–एमालेबीचको सहकार्य रहर होइन वाध्यता हो । बिकृति र विसंगतीलाई अन्त्य गर्न हो । देशमा विद्यमान निराशालाई अन्त्य गर्न, अर्थतन्त्र सुदृढ पार्न र सुशासनको प्रत्याभूति दिनका लागि हो,’उनले भने, ‘विदेशमा गएकालाई नेपाल फर्कौं फर्कौं भन्ने बनाउन र स्वदेशमा रहेकालाई स्वदेशमै बसौं बसौं भन्ने बनाउन र सुशासन कायम गर्न एमाले–कांग्रेसको सहकार्य हो ।’
मुलुकलाई अपसंस्कृतिबाट असल संगतीतिर लानुपर्ने आफूहरुको वाध्यता रहेको उनको भनाइ छ । ‘विश्वका जतिपनि देशहरु विकासको उत्कर्षमा छन् वा सफलता हासिल गरेका देशहरु छन्, तिनीहरुले असल संस्कृति, इमान र निष्ठाको बाटोबाट प्राप्त गरेका हुन् । वीपी, गान्धी र मण्डेलाको बाटो भनेको आदर्श, निष्ठा र इमानको बाटो हो । त्यसैले हामी निष्ठा र इमानको बाटोमा अघि बढ्नेछौं,’मन्त्री पाण्डेले भने । 
शक्ति भन्ने कुरा प्राप्त भइरहला तर शक्तिको दुरुपयोग गरियो भने कुनै दिन आत्मघाती हुनसक्नेमा आफू सचेत रहेको उनको भनाइ थियो । ‘मन्त्री वा प्रधानमन्त्री भएर काम नगर्ने छुट छैन् । अनियमितता गर्न र भ्रष्टाचार गर्ने छुट छैन् । स्वच्छतासहितको काम गर्नुपर्ने आवश्यक्ता छ । धेरै गर्न नसके पनि राम्रो र स्वच्छ काम गर्न एवम बजेट कार्यान्वयन गर्न जरुरी छ,’उनले भने ।
पिछडिएका क्षेत्रलाई विकासको मूलधारमा ल्याउनुपर्ने दायित्व आफूसँग रहेको औंल्याउँदै मन्त्री पाण्डेले आफ्नो गृहजिल्लाको विकासमा सँधै कटिवद्ध रहने प्रतिवद्धता जनाए । 
 

शनिबार ५ साउन २०८१ ०७:२२ PM मा प्रकाशित

प्रतिक्रिया