images

बागमती मुख्यमन्त्रीमा कांग्रेसले बहादुरसिंह लामालाई अघि सार्ने 

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि बहादुरसिंह लामालाई अघि सार्ने सर्वसम्मत निर्णय गरेको छ 
आइतबार बिहान हेटौंडामा बसेको संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको प्रदेश सांसद रमेश महतले जानकारी दिए ।
उनले भने,‘बिहान बसेको संसदीय दलको बैठकले बहादुरसिंह लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सर्वसहमतिमा निर्णय गरेको हो ।’
बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् । लामा बागमती प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता समेत हुन् ।
मुख्यमन्त्रीमा प्रदेश सभापति एवं सांसद इन्द्र बानियाँले पनि इच्छा देखाएका थिए । संविधानको धारा १६८ (२) अनुुसार दलको नेता बाहेकको व्यक्तिले पनि मुख्यमन्त्री दाबी गर्न पाउने व्यवस्था अनुसार बानियाँले आकांक्षा राखेका थिए ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् । उनले पक्षमा बहुमत नपुग्ने निश्चित छ ।
जम्मकट्टेलले नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि कांग्रेसका लामाले एमाले समेतको समर्थनमा आज नै मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी गरेका छन् । ‘विश्वासको मत मुख्यमन्त्रीले नपाएपछि दुई दलको बैठक बस्छौं,’ महतले भने, ‘प्रदेश प्रमुखले सरकार निर्माणका लागि आज आह्वान गर्नुभयो भने आज नै मुख्यमन्त्री दाबी गर्ने तयारीमा छौं ।’
 

आइतबार​ ६ साउन २०८१ ०६:२० PM मा प्रकाशित

प्रतिक्रिया