images

कांग्रेस केन्द्रीय कार्यालयमा पुस्तकालयको उद्घाटन

काठमाडौं । नेपाली कांग्रेसले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा केन्द्रीय कार्यालय पुस्तकालयको  शुभारम्भ गरिएको छ । 
केन्द्रीय पुस्तकालयको एक समारोहकाबीच पार्टी सभापति शेर बहादुर देउवाले पुस्तकालयको उद्घाटन गरे । 
नेपाली साहित्यमा समेत उच्च योगदान दिएका कोइरालाका विभिन्न पुस्तकहहरु र कृतिहरु पुस्तकालयमा राखिएका छन् । 
उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित छन् । 
त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चस्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ ।
नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर संघर्ष गरेका वीपी अर्थात ‘विश्वेश्वर प्रसाद’ कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको थियो । 
जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । 
निर्वासनमै बिपीले भारतको स्वतन्त्रता संग्राममा भाग लिएका थिए । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोँचले उनी त्यो आन्दोलनमा सक्रिय भएका थिए । 
भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा वीपीको नेतृत्वमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना भयो । 
प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्णशम्शेरको नेतृत्वमा विसं २००६ मा स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेसका बीच एकता भएपछि विसं २००७ को क्रान्ति सफल भयो । क्रान्तिको सफलतापछि मोहनशम्शेरको नेतृत्वमा बनेको राणा–काँग्रेस सरकारमा वीपी गृहमन्त्री बनेका थिए । 
विसं २०१५ को आमनिर्वाचनमा काँग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए । 
प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराएका थिए ।
 

आइतबार​ ६ साउन २०८१ ०५:४६ PM मा प्रकाशित

प्रतिक्रिया